• १२ मंसिर २०८१, बुधबार

गोठी गाउँ जोडियो राष्ट्रिय सडक सञ्जालसँग

blog

गोठी गाउँ राष्ट्रिय सडक सञ्जाल जोडिएपछि गाउँमा पुगेका जिपहरूको लस्कर । तस्बिर: राजन

राजन रावत 

हुम्ला, माघ २५ गते । सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुसीयाली मनाउनु भएको छ । गाउँका स्थानीयको वर्षौँदेखि गाडी गुडाउने सपना यति बेला आएर पुरा भएपछि बाजाघाझा सहित खुसीयाली मनाउन कार्य भएको हो । 

उक्त गाउँकी स्थानीय बसन्ती शाहीले वर्षौँदेखिको घरआगनमा सडक सञ्जाल जोडिएको हेर्ने चाहाना पुरा भएको बताउँदै यसबाट हरेक कुरामा सहज हुने बताउनुभयो । उहाँले गाउँका ज्येष्ठ नागरिकहरूलाई यसरी सडक सञ्जाल चाँडै जोडिएला भन्ने नसोचेकै बेला सडक निर्माण भएर एक साथ छ वटा बोलेरो जिप गाउँमा आई पुगेपछि अचम्मित मात्र नभएर खुसी समेत देखिएको बताउनुभयो । अब गोठी गाउँमा गाडी मात्र पुगेको छैन राष्ट्रिय सडक सञ्जालसँग समेत जोडिएको छ । गाउँमा ताँती लागेर आएका यात्रुले भरिएका बोलेरो जीपलाई बाजा बजाएर स्वागत गर्दै चालक तथा यात्रुहरूलाई अबिर, फुलमाला र अक्षता लगाउने कार्य गरिएको थियो । उहाँले दुर्गम गाउँमा गाडी पुगेपछि अब बिरामीदेखि सबै खाले यात्रुहरूलाई यात्रामा सहज मात्र नभएर सामान ढुवानी गर्न पनि सजिलो हुने बताउनुभयो ।

यसअघि नै प्रतिनिधि सभामा दुई दुई जना सांसद बनाउन सफल भएको गोठी गाउँमा हालसम्म सडक सञ्जाल नजोडिएकोमा आलोचना हुने गरेको थियो । सर्केगार्ड, गोठी, रोडिकोट, फुचा, राहदेब, पंङ्खा हुँदै मारघोरसम्मको सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले चार करोड ४९ लाख बजेटको व्यवस्था गरेको थियो । अघिल्लो आर्थिक वर्षबाट सो सडकको निर्माण काम सुरु भएको भए पनि विस्फोटक पदार्थ व्यवस्था गर्न निर्माण कम्पनीलाई समस्या भएको कारण हाल आएर सडक निर्माण कार्य पुरा भएको हो ।  सडक पाँच देखि दश मिटर चौढाई रहेको छ ।