• ११ मंसिर २०८१, मङ्गलबार

ऐतिहासिक भेड्पु पोखरी संरक्षणको पर्खाइमा

blog

प्राचीन एवं ऐतिहासिक भेड्पु पोखरी । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, माघ २५ गते । दोलखाको मेलुङ गाउँपालिकाले वडा नम्बर ४ भेड्पुमा रहेको प्राचीन तथा ऐतिहासिक भेड्पु पोखरीको संरक्षणको पर्खाइमा रहेको छ । 

प्राकृतिक रूपमा निर्मित यो पोखरी मेलुङको पर्यटकीय गन्तव्यमध्ये एक बन्न सक्ने तथा पर्यावरण संरक्षणका दृष्टिले समेत महत्त्वपूर्ण भएकाले यसरी संरक्षण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष हीराकुमार थोकरले बताउनु भयो ।

पोखरी संरक्षण अन्तर्गत चालु आर्थिक वर्षमा पोखरी वरिपरि तारबार लगाउने काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष थोकरले जानकारी दिँदै भन्नु भयो, चालु आर्थिक वर्षमा १५ लाख रुपियाँ खर्च भएको छ । मेलुङ हुँदै दोलखाको प्रसिद्ध पर्यटकीय स्थल सैलुङ जाने बाटैमा पर्ने भएकाले यो पोखरी पर्यटकीय महत्वका दृष्टिले पनि उत्कृष्ट रहेको छ । पोखरी निकट रहेका बौद्ध धर्मसँग सम्बन्धित प्राचीन मानेहरूको संरक्षण गर्ने तथा यसलाई मेलुङको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनेतर्फ गाउँपालिकाले आगामी आर्थिक वर्षहरूमा काम गर्ने सोच राखेको छ ।  

पर्यावरण संरक्षण तथा स्थानीय खानेपानीका मुहानहरू संरक्षणका दृष्टिले समेत भेड्पु पोखरीको संरक्षण आवश्यक देखिएको छ । उहाँले भन्नु भयो, पोखरी कहिले बन्यो अथवा बनाइयो भन्ने बारेमा यकिन जानकारी नभए पनि पोखरीकै नामबाट गाउँको नाम पनि पोखरी रहेको छ । 

पोखरी निक्कै प्राचीन रहेको प्रसिद्ध भीमेश्वर मन्दिरका पुराना कागजातमा भेड्पु पोखरीको नाम उल्लेख हुनुबाट यसको प्राचीनता प्रस्ट हुने भेड्पुका स्थानीय बुढापाकाहरूको भनाइ रहेको छ । 

पोखरीकै कारण पोखरीभन्दा तल्लो भेगमा रहेका पानीका मुहानहरू बाह्रै महिना नसुक्ने गरेको उनीहरूको दाबी रहेको छ । बौद्ध संस्कृतिमा विश्वास राख्ने तामाङ समुदायको बाक्लो बसोबास रहेको भेड्पुका स्थानीयहरू यो पोखरीलाई पवित्र पोखरीको रूपमा श्रद्धा गर्ने गर्दछन् । 

प्राचीन पोखरीको अस्तित्व नै सङ्कटमा पर्न सक्ने खतरा बढ्दै गएको बेलामा गाउँपालिका पोखरी संरक्षणमा अग्रसर भएको प्रति स्थानीय भेड्पुवासीहरुले खुसी प्रकट गरेका वडाध्यक्ष सोम बमजनले जानकारी दिनुभयो ।