• १४ मंसिर २०८१, शुक्रबार

उपलब्धि संस्थागत गर्ने बेलामा धोका भयो : महासचिव पोखरेल

blog

महासचिव शंकर पोखरेल धारणा राख्नुहुँदै । तस्बिर : रेखिराम राना

रेखीराम राना

पाल्पा, माघ २४ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आन्दोलन संस्थागत गर्ने बेलामा धोका भएका कारण उपलब्धि संस्थागत हुन नसकेको बताउनुभएको छ । 

एमाले पाल्पाद्वारा तानसेनमा बुधबार आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले राजनीतिक दलहरू इमान्दार नभएका कारण प्राप्त उपलब्धि संस्थागत हुन नसकेको बताउनुभयो ।  

नेपालका राजनीतिक दलको सत्तास्वार्थका कारण लोकतन्त्र संस्थागत हुन नसकेको जिकिर उहाँले गर्नुभयो । २०१७ देखि हालसम्मका विभिन्न आन्दोलन भए पनि पार्टीहरू जिम्मेवार हुन नसकेको उहाँको भनाइ छ । नेपाली काङ्ग्रेसले परिवर्तनको नेतृत्व गरे पनि उपलब्धिपछि काङ्ग्रेस इमान्दार बन्न नसकेको आरोप उहाँले लगाउनुभयो । 

अहिले पनि सत्तामा टिकिरहने गठबन्धनमा आवद्ध दलहरूका सोंचका कारण मुलुक अप्ठ्यारोमा परेको महासचिव पोखरेलको दावी छ । निर्वाचन अगाडि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेकाले त्यसले जनताको हितभन्दा पार्टीहितमा मात्र काम गरेको नेता पोखरेलको आरोप छ ।

महासचिव पोखरेलले दुर्गा प्रसाईजस्ता व्यक्ति बेलाबखत जन्मिने र त्यसले केवल अराजकता मात्र निम्त्याउने बताउनुभयो । अराजकतालाई जनताले सुरुमा साथ दिए पनि विस्तारै जनताले बुझ्दैजाने र अराजकता पराजित हुने निश्चित रहेको उहाँको भनाइ छ । 

प्रशिक्षण कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल, पोलिटब्यूरो सदस्य बैजनाथ चौधरी, केन्द्रीय सदस्य सिर्जना काफ्लेलगायतको सहभागिता रहेको जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो ।