काठमाडौं, माघ २४ गते । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी रहेको बताउनुभएको हो ।
उहाँले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताउनुभयो । उहाँले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘प्राकृतिक रूपले हेर्दा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले दाबी गर्ने अवस्था छ । हाम्रो दाबी पनि रहेको छ । माओवादी केन्द्रको दाबी छ । यसमा हामी सत्तारुढ गठबन्धनमा छलफल गर्छौँ । अरू दलसँग पनि छलफल गर्छौ । राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार नै छलफल गरेर जाने हाम्रो सोच छ ।’’
सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उहाँले माइतीघर मण्डलालाई निषेधित गर्नु नहुने पनि बताउनुभयो । उहाँले लोकतन्त्रमा जनतासँग सरकार डराउनु नहुने भन्दै निषेधित क्षेत्र तोक्ने सन्दर्भमा सरकार लचिलो हुनुपर्ने बताउनुभयो ।