बाबुराम शर्मा
दोलखा, माघ २४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोलखाको अध्यक्षका लागि प्यानलसहित त्रिपक्षीय प्रतिस्पर्धा सहित निर्वाचनमा हुन लागेको छ । सहमतिको लामो प्रयास विफल भएपछि जिल्लाका क्रियाशील दुई गुट समूह बनाएर निर्वाचनमा उभिएका छन् ।
निर्वाचन तालिका सार्दासार्दै सहमति नभएपछि अहिले दिनको तीन बजेबाट मतदान सुरु हुने भएको छ । वर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठ र पूर्व अध्यक्ष ईश्वरचन्द्र पोखरेल अध्यक्ष पदमा रहनुभएको छ । निवर्तमान अध्यक्ष श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा सोयमबहादुर खड्का , उपसचिवमा ईश्वर न्यौपाने र कमा बस्नेत रहेका छन् । पूर्व अध्यक्ष पोखरेलको प्यानलबाट उपाध्यक्षमा हिरा थोकर, सचिवमा कृष्ण बस्नेत, उपसचिवमा मेनुका सुवेदी र हरि ओली रहेका छन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार भरत दुलालले भने कुनै प्यानल बनाउनु भएको छैन । अध्यक्ष पदका प्रतिस्पर्धी श्रेष्ठलाई पोलिटब्युरो सदस्य पार्वत गुरुङको समर्थन रहेको छ । पूर्व अध्यक्ष पोखरेललाई अर्का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलको समर्थन रहेको छ । एमाले दोलखामा लामो समयदेखि पोखरेल र गुरुङबिच चर्को गुटबन्दी हुँदै आएको छ ।
त्यसैगरी खुला दलित सदस्य ६ का लागि ११, निर्वाचन क्षेत्र खुला सदस्य १० का लागि १५, भूगोलतर्फ २५ पदका लागि ७१ जना निर्वाचनमा उभिएका छन् । सबै पदमा प्रतिस्पर्धा भएको छ । अधिवेशनका मतदाता ६२५ जना छन् ।