• १३ असोज २०८१, आइतबार

अन्तर प्रदेश प्रतियोगिताको तयारीमा कर्णाली

blog

खेलाडी छनोट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल । तस्बिर : गोरखापत्र

नविन सुवेदी

सुर्खेत, माघ २४ गते । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आगामी फागुन २४ देखि ३० गतेसम्म बागमती खेलकुद परिषद्को आयोजनामा हुन लागेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटलाई तीव्रता दिएको छ । 

कर्णाली प्रदेशका विभिन्न जिल्लामा विभिन्न खेल विधाका खेलाडीहरू छनोट गर्न लागेको कर्णाली प्रदेशले बुधवारदेखि प्रदेश राजधानी वीरेन्द्रनगर स्थित कालिन्चोक रग्बी खेल मैदानमा एथलेटिक्स विधाका खेलाडीहरू छनोट गर्न लागेको हो । 

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले प्रदेश स्तरीय एथलेटिक्स छनोट प्रतियोगिताको उद्घाटन गर्दै खेलाडी छनोटमा निष्पक्षताका साथ खेलाडी छनोट गर्न निर्णायकहलाई निर्देशन दिनुभयो । 

‘‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि नजिकिँदै छ त्यसको लागि पनि यो पूर्व तयारी हो । यहाँबाट छनौट भएर गएका खेलाडीहरूले कर्णालीको नाम राख्नु होला । मन्त्री पोखरेलले भन्नुभयो, ‘‘हिजोका दिन जस्तो खेल तयारीको लागि अहिले कर्णाली प्रदेशमा खेल मैदानको अभाव छैन तपाई खेलाडीहरू जति सक्दो कर्णालीलाई मेडल दिने गरी तयारीमा लाग्नु होला ।’’

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले यो छनोट प्रतियोगितामा आफ्नो अब्बल क्षमता प्रस्तुत गरेर खेल खेल्न खेलाडीहरूलाई निर्देशन दिनुभयो । अबको केही महिना भित्र निर्माणाधीन प्रदेश रङ्गशालाभित्र सुविधासम्पन्न मैदान तयार हुने र त्यही मैदानमा अबका प्रतियोगिता हुने भन्दै सदस्य सचिव संज्यालले अब कर्णालीमा बताउनुभयो । 

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पनि नजिकिँदै छ । कर्णालीमा खेललाई जिल्ला स्तरसम्म पुर्‍याउनको लागि अहिलेदेखि नै अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट कर्णालीका विभिन्न जिल्लामा परिषद्ले गर्न लागेको भन्दै सदस्य सचिव संज्यालले २६ गते कालिकोटमा करातेको छनोट हुने र २७ गते सल्यानमा तेक्वान्दोको छनोट हुने जनाउनुभयो । 

त्यस्तै जम्लामा फुटबलको छनोट हुँदैछ भने आइटिएफको छनोट रुकुम पश्चिममा हुने भएको छ । कबड्डीको प्रदेश स्तरीय छनोट प्रतियोगिता भने मुगु रारामा हुने भएको छ । उसुको सुर्खेतमा हुदैछ भने हक्कीको प्रतियोगिता हुम्लामा हुनेछ ।