• ६ जेठ २०८१, आइतबार

समयमा बिक्री नहुँदा काम नलाग्ने बन्यो गोलिया काठ

blog

डिभिजन वन कार्यालय परिसरमा रहेको काम नलाग्ने भइसकेको गोलिया काठ। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २४ गते। ताप्लेजुङमा समयमा लिलाम बिक्री नहुँदा लाखौँ मूल्य बराबरको गोलिया काठ सडिएको छ। पटक–पटक लिलाम बिक्रीको प्रक्रियामार्फत काठ खरिद गर्न आह्वान गरे पनि कसैले खरिद नगरेपछि राखेकै ठाउँमा गोलिया काठ सडिँदै गएको हो। 

डिभिजन वन कार्यालय ताप्लेजुङका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको जानकारी दिनुभयो। साहले लिलाम बिक्रीको प्रक्रियामार्फत गोलिया काठ बिक्री गर्न खोजे पनि कसैले खरिद नगरेको बताउनुभयो। बिक्री नभएपछि डिभिजन वन कार्यालय परिसरमा रहेको एक हजार ४०२.९१ क्युविक फिट गोलिया काठ सड्दै गएको उहाँले बताउनुभयो।

डिभिजन वन कार्यालयका अनुसार एक हजार ३७८.४४ क्युविक फिट उत्तिस र २४.४७ क्युविक फिट मलातो प्रजातिको काठ सड्दै गएको हो। करिब दुई वर्षअघि अवैध रूपमा कटान गरिएको अवस्थामा फेला पारी वन कार्यालयले काठ नियन्त्रणमा लिएको थियो। उक्त काठ चाँडै सड्ने वा मक्काउने प्रजातिमा पर्दछ। सडेको काठ प्रयोगमा नआउने र यसबाट लाखौँ रुपियाँ बराबरको राजस्व रकम गुमाउनुपर्ने अवस्था बनिरहेको वन कार्यालयले जनाएको छ। 

यता लिलाम बिक्रीको प्रक्रिया सुरु गर्नलाई नै कानुनी झन्झटिलो रहेको अर्थात् लामो समय लाग्ने भएकाले काठ सड्ने गरेको डिभिजनल वन अधिकृत साहको भनाइ छ। लिलामीको प्रक्रियासम्म पुग्दा काठ प्रयोगमा ल्याउन नमिल्ने खालको हुने भएकाले बिक्रीमा समस्या हुने गरेको उहाँले बताउनुभयो। बिक्री नभएको गोलिया काठ दाउरा बाल्नुबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नमिल्ने अवस्थाको भइसकेको छ।