• १० मंसिर २०८१, सोमबार

चिनियाँ युवा फुटबल टोली नेपालमा

blog

बुधबार नेपाल आइपुगेको चिनियाँ फुटबल टोली ।

काठमाडौँ, माघ २४ गते । दशरथ रङ्गशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न चिनियाँ युवा टोली बुधबार काठमाडौँ आइपुगेको छ । नेपालले चीनको चिङ्घाइ फुटबल क्लबसँग माघ २७ गते शनिबार मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । 

चिनियाँ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले स्वागत गर्नुभयो । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा फुटबल खेल आयोजना गर्न लागेको हो ।

नेपालले यस मैत्रीखेलका लागि तयारी गरिरहेको छ । नेपाली टोलीलाई राष्ट्रिय सिनियर टोलीको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नै प्रशिक्षण दिनुभएको छ । एन्फाले टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलरक्षक प्रशिक्षकमा मनिष तिम्सिनालाई जिम्मेवारी दिएको छ ।