• १५ वैशाख २०८१, शनिबार

सानी खेलाडी सुरम्या

blog

सुरम्या शाक्य अहिले ११ वर्षकी छिन् । सेन्ट मेरिज स्कुलमा कक्षा ६ मा पढ्छिन् । उनी टेबलटेनिस खेलाडी हुन् । सानो उमेरमै सुरम्याले टेबलटेनिसमा धेरै पदक जितिसकेकी छन् ।

हरेक बालबालिकामा केही न केही प्रतिभा हुन्छ । अभिभावकले समयमै आफ्ना केटाकेटीको प्रतिभा किटान गर्न सक्नु पर्छ । उनीहरूको झुकाव केमा बढी छ । खेलकुदमा छ भने कुन खेल उसका लागि उपयुक्त हुन्छ, त्यो थाहा पाउनु पर्छ । यही कुरालाई मनन गर्दै बुवा सुमन शाक्यले आफ्नी छोरी सुरम्यालाई प्रशिक्षणको व्यवस्था गरेरै टेबलटेनिस खेल्न लगाउनुभयो । सुरम्याका बुवा आइटिटिएफ लेभल टु टेबलटेनिस प्रशिक्षक हुनुहुन्छ । त्यसैले पनि सुरम्याले टेबलटेनिस खेल्ने इच्छा देखाएपछि उनका बुवा सुमन खुसी नै हुनुभयो । राम्रो मार्र्गदर्शनसहित आफूलाई मनपर्ने खेल खेल्न पाएपछि सुरम्याले राम्रो प्रगति पनि गरिन् । अहिले कम उमेरमै पनि सुरम्याका भिजन स्पष्ट छ । उनको लक्ष्य छ,  नेपालको नम्बर एक टेबलटेनिस खेलाडी बन्ने । विदेशमा पनि च्याम्पियन भएर देशको नाम राख्ने । आफ्नो सपना साकार पार्न सुरम्या मेहनत पनि गर्छिन् । दिनको दुई सिफ्टमा नेपालकी नम्बर एक टेबलटेनिस खेलाडी नविता श्रेष्ठको स्ट्याग टेबलटेनिस एकेडेमीमा अभ्यास गर्छिन् । मेहनत र उनको गति देख्दा सुरम्या नेपालकी भविष्यकी खेलाडी हुन्भन्दा फरक नपर्ला ।सुरम्याले कोरोना समयमा टेबलटेनिस खेल्न सुरु गरेकी हुन् । लकडाउन हुँदा घरमै ज्ञानमन्दिर भन्ने स्कुल छ । लकडाउनले गर्दा स्कुल बन्द थियो । फुर्सदको समयमा त्यहीँ टेबलटेनिस खेल्न सुरु गरिन् । त्यसपछि उनका बुवा सुमनले छोरीको टेबलटेनिसप्रति लगाव र प्रतिभा देखेर ललितपुर टेबलटेनिस क्लबमा प्रशिक्षण लिन थाल्नुभयो । सुरम्याकी बुवा सुमनले सोही क्लबमा सिकाउनुहुन्छ । त्यसैले पनि सुरम्याले सानैदेखि राम्रो मार्गदर्शन पाइन् । अहिले भने सुरम्या स्ट्याग एकेडेमीमा प्रशिक्षण लिनुहुन्छ ।

सुरम्याले गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा खेलेकी छन् । १० वर्षकै उमेरमा राष्ट्रिय खेलकुद खेलेकी सुरम्याले महिला टिम इभेन्टमा तेस्रो स्थान हासिल गरिन् । यसअघि आठ वर्षकै उमेरमा खेलेको पहिलो प्रतियोगितामै सुरम्या ‘राइजिङ प्लेअयर’ घोषित भएकी हुन् । जसले यस खेलमा लाग्न सुरम्या अझ उत्प्रेरित भइन् । त्यसपछि सुरम्याले लगातार प्रतियोगिता पनि खेलिरहेकी छन् । यसबिच १६ औँ हरेराम स्मृति खुला टेबलटेनिस प्रतियोगितामा यु–१२ गल्र्स सिङ्गल्समा पाएको स्वर्ण पदक अहिलेसम्मको विशेष क्षण मान्छिन् सुरम्या । म पहिलो पटक च्याम्पियन भएकी थिएँ । त्यसैले त्यो क्षण मलाई विशेष लाग्छ– सुरम्या भन्छिन् ।

उनले यस वर्ष १२ औँ पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका यु–१२ गल्र्स एकलमा पनि स्वर्ण पदक जितिन् । यसै गरी सुरम्याले केही महिनाअघि मात्र पाँचौँ मेयर कपमा महिला सिङ्गल्स र यु–१६ गल्र्स सिङ्गल्समा दोहारो रजत पदक जितेर आफ्नो नाम बनाइन् । नवौँ सोपेज राष्ट्रिय अन्तरस्कुल टेबलटेनिस र माइ जेन्डर माइ स्ट्रेन्थ महिला जुनियर टेबलटेनिसमा पनि सुरम्याले एकलमा रजत पदक जितेकी छन् । स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २३ जस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा मिक्स डबल्समा सुरम्याले कांस्य पदक हासिल गरेकी छन् । युनिटी कप ओपन टेबलटेनिस, १२ औँ पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय टेबलटेनिस (महिला टिम), पाँचौँ सम्झना कप (महिला टिम), ललितपुर स्पोर्ट्स फेस्टिभल र प्रथम मिलन स्मृति राष्ट्रिय जुनियर टेबलटेनिसमा पनि सुरम्याले कांस्य पदक भिरेकी छन् । यसबाहेक सुरम्या आइटिटिएफ लेभल–२ कोर्स प्रशिक्षण क्याम्प, नेसनल होप्स विक एन्ड च्यालेन्ज र माई जेन्डर माइ स्ट्रेन्थ महिला जुनियर टेबलटनिस ट्रेनिङमा पनि सहभागी भएर आफ्नो स्तर उकासेकी छन् ।

सुरम्या चिनका मा लङ र नेपालकी नवितालाई आफ्नो आदर्श खेलाडी मान्छिन् । नेपालका श्यान्टु श्रेष्ठको खेल पनि सुरम्यालाई निकै मन पर्छ । सुरम्या राम्रो नृत्य पनि गर्छिन् । उनलाई गीत गाउन मन पर्छ । साइक्लिङमा पनि जान्छिन् ।