• ५ जेठ २०८१, शनिबार

मेयर कप फुटबल फाइनल बुधबार

blog

फाइल तस्बिर ।

कमल खत्री

नेपालगन्ज, माघ २३ गते । नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । फाइनल खेलको तयारी पूरा भएको आयोजक बाँके जिल्ला फुटबल सङ्घले जनाएको छ । 

३३ विद्यालयका ६ सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमीले खेल्नेछन् । छात्रातर्फ मनकामना मावि खजुरा र नेपालगन्ज मोडेल एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।

बाँके जिल्ला फुटबल सङ्घको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको छात्रतर्फको सेमिफाइनलमा सेन्ट जेभियर्सले जय बागेश्वरी पराजित गरेर फाइनलमा पुगेको हो । नेपालगन्ज मोडेलले कृष्ण मावि कोहलपुरलाई हराउँदै  फाइनलमा पुगेको हो । 

धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजित गरेको थियो । नेपालगन्ज मोडेलले कृष्ण माविलाई ट्राइबेकरमा ३–० गोलले पराजित गरेको थियो । 

यसैगरी छात्रातर्फ मनकामना मावि खजुराले जनसेवा मावि गिजरालाई ट्राइबेकरमा ४–३ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो । प्रतियोगितामा छात्रतर्फ २८ र छात्रातर्फ पाँच वटा स्कुलले भाग लिएका छन् । ११ दिन सम्म चलेको प्रतियोगितामा बाँकेका आठ स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयको मावि स्तरका टिमले भाग लिएका थिए । 

प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर कैलाली जिल्लासँग मैत्रीपूर्ण फुटबल खेल्ने तयारी भएको आयोजक बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनुभयो ।

 प्रतियोगिताले बाँके जिल्लाको जुनियर स्तरको टिम तयारी पार्न महत्त्वपूर्ण सहयोग गरेको उहाँले बताउनुभयो । कोभिड पछि बाँकेमा भएको विद्यालय स्तरको प्रतियोगिताले नयाँ उत्साह थपेको शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी निकै खुसी छौँ । कोभिड–१९ पछि विद्या लय स्तरको फुटबल प्रतियोगिता भएको छ । विद्यालयहरूको उत्साह जनक रूपमा सहभागिता रह्यो । यसले हामीले ग्रासरुटबाट उमेर समूहका प्रतिभावान खेलाडी छनोट गर्ने, उनीहरूलाई अवसर दिलाउन सहयोग गर्नेछ ।’’