• १३ साउन २०८१, आइतबार

सांसद नेम्वाङको स्वास्थ्यमा सुधार : आइसियुबाट वार्डमा सारियो

blog

उपचाररत नेकपा (एमाले)का नेता एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङ साथमा श्रीमती भूमिका । तस्बिर : भूमिका सुब्बाको फेसबुकबाट

काठमाडौं, माघ २३ गते। नेकपा (एमाले)का नेता एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्थामा सुधार आएको छ। मेडिसिटी अस्पतालका अनुसार नेम्वाङको स्वास्थ्यमा सुधार आएपछि आइसियुबाट वार्डमा सारिएको हो।  

अस्पतालका अनुसार वार्डमा सारेर उहाँको फिजियोथेरापी मार्फत उपचार हुँदैछ। पूर्व मन्त्रीसमेत रहनुभएका नेम्वाङ अझै बोल्न नसकेको अस्पतालले जनाएको छ।

पाँचथरबाट प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ माघ १७ गते ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन त्यहाँ पुगेको समयमा ब्रेन स्ट्रोक भएको थियो। ताप्लेजुङमा उपचार सम्भव नभएपछि उहाँलाई हेलिकप्टरमार्फत ललितपुरस्थित नेपाल मेडीसिटी हस्पिटलमा पुर्‍याइएको थियो। टाउकोको देब्रेतर्फको नसा फुटेर पछि शल्यक्रिया गरिएको थियो। 

नेम्वाङकी श्रीमती भूमिका सुब्बाले नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिनुभयो। उहाँले चिकित्सकको सल्लाह अनुसार अन्य बाहिरी सङ्क्रमणबाट जोगाउन परिवारका केही सदस्यबाहेक अन्यलाई भेटघाटमा अस्पतालले रोक लगाएको जानकारी दिनुभयो। 

उहाँले नेम्वाङको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुहुने, आशीर्वाद दिनुहुने आफन्तजन, पार्टी नेताहरू, इष्टमित्र, शुभेच्छुक, गुरूहरू र साथीभाइप्रति आभार व्यक्त गर्नुभयो।