• १३ असोज २०८१, आइतबार

नेपालमा खेल पर्यटन विकास गर्न कोरियामा गोष्ठी

blog

‘स्पोर्ट्स ग्लोबल टुरिजम–२०२४’ बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, माघ २२ गते । नेपालमा खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यसहित मङ्गलबार दक्षिण कोरियाको राजधानी सोलमा ‘स्पोर्ट्स ग्लोबल टुरिजम–२०२४’ विषयक एक दिने गोष्ठी हुने भएको छ ।

नेपाली राजदूतावास दक्षिण कोरिया, एनआरएनए आइसिसी ग्लोबल एनआरएन फाउन्डेसन, हानयाङ्ग युनिभर्सिटी, र एमआइटी ग्रुप फाउन्डेसनको संयुक्त आयोजनामा हुने गोष्ठीको प्रमुख लक्ष्य खेल पर्यटनसँग सम्बन्धी क्षेत्रको ज्ञान, सीप र प्रविधि अनुभव आदानप्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि गतिशील प्लेटफर्म स्थापित गर्ने रहेको आयोजकले जनाएको छ।

गोष्ठीमा नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक विकासको लागि खेल पर्यटनको सम्भाव्यतालाई उजागर गर्नमा केन्द्रित रहने र खेल पर्यटन तथा राष्ट्रिय विकासको क्षेत्रमा प्रख्यात विशेषज्ञहरूको अनुभव आदानप्रदान हुनेछ । गोष्ठीमा साहसिक खेल, हरित ऊर्जा लगायत सम्भावित विषयहरूमा कोरिया लगायत अन्य देशबाट आफ्नो शोध, खोज अनि अनुभव समेटेर विज्ञहरूले कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । 

गोष्ठीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा.ज्योति प्याकुरेल भण्डारी, दक्षिण कोरियाका लागि पाकिस्तानी राजदूत नविल मुनिर, दक्षिण कोरियाका लागि कम्बोडियाका राजदूत महामहिम चिरिङ बटमरेन्से लगायत गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष शेष घले, एनआरएनए आइसिसी अध्यक्ष विनोद कुँवर, एमआइटी ग्रुप फाउन्डेसनका डाइरेक्टर जमुना घले र हान्याङ विश्वविद्यालयका प्रेसिडेन्ट डा.की जङ लीले सम्बोधन गर्ने आयोजकले जनाएको छ। 

गोष्ठीको सफलताको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का  साथै परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले शुभकामना व्यक्त गर्दै यस कार्यक्रमबाट नेपालको पर्यटन विकास लगायत अन्य सरोकारको क्षेत्रमा टेवा पुग्ने विश्वास गर्नुभएको छ । गोष्ठीमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ कोरिया जानुभएको छ ।