• १४ फागुन २०८०, सोमबार

एभोकाडोको राजधानी घोषणा प्रभावकारी हुँदै छ

blog

धनकुटा नगरपालिका धनकुटाको सबैभन्दा बढी जनसङ्ख्या भएको ठुलो र पुरानो नगरपालिका हो । २०३५ सालमै नगर पञ्चायत घोषणा भएको धनकुटाको जनसङ्ख्या करिब ३६ हजार छ । यस नगरपालिकामा अघिल्लो पटक प्रमुख भइसकेका चिन्तन तामाङ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानीसहित बसाइँसराइ रोक्नु र पूर्वाधार निर्माण गर्नु यहाँको मुख्य चुनौतीका रूपमा छ । कृषि पर्यटन यो पालिकाको मुख्य आधार हो । सीमित स्रोतसाधनबाट असीमित जनताको जायज चाहना पूरा गर्नुपर्ने अवस्था छ । यसै सन्दर्भमा प्रमुख तामाङसँग गोरखापत्र दैनिकका हिले समाचारदाता कविराज घिमिरेले गर्नुभएको कुराकानी :

नगरपालिका प्रमुखका रूपमा यहाँको यो दोस्रो कार्यकाल छ । अहिलेसम्मको अनुभव कस्तो छ ?

  अनुभव राम्रै रह्यो । पहिलो कार्यकाल स्थानीय तह बुझ्दैमा बित्यो । पहिलो कार्यकाल भएकाले के गर्ने, कसरी गर्ने भन्ने थियो । केही गर्न सुरु गर्नेबित्तिकै कोभिड–१९ को महामारीले सोचे अनुरूपको काम हुनै पाएन । यद्यपि हामीले केही महत्वपूर्ण काम गर्न भने सफल भयौँ । कोभिड–१९ ले फरक कुरा सिक्ने, अनुभव गर्ने र फरक परिवेशमा काम गर्ने सिप पनि सिकायो । 

यहाँले नगरपालिकाको नेतृत्व सम्हालेपछिका मुख्य उपलब्धि के के हुन् ?

हामी निर्वाचित भएपछि पालिकामा धेरै महत्वपूर्ण काम भएका छन् । गाउँ गाउँमा सडक त थिए तर गाडी गुड्न सक्ने अवस्थाका थिएनन् । अहिले हामी ती सडकको क्रमशः स्तरोन्नतिमा लागेका छौँ । प्रत्येक वडामा स्वास्थ्य संस्था र कर्मचारीको व्यवस्था गरेका छौँ । कृषिका लागि योजना बनाएर काम गरेका छौँ । नमुना नगर बनाउन लागेका छौँ ।

नगरपालिकाको विकासमा यहाँले के कस्ता चुनौतीको अनुभव गर्नुभएको छ ?

   सीमित स्रोत र असीमित मागका बिचमा रहेर धेरै चुनौती सामना गर्नुपर्ने अवस्था थियो र अहिले पनि छ । त्यसमा पनि कोभिड–१९ को महामारी र त्यसपछिको आर्थिक मन्दीको मार त छँदै थियो । यहाँको सडकको नाजुक अवस्था हाम्रो लागि ठुलै चुनौतीका रूपमा छ । शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि निकै ठुलो सुधार गर्नु बाँकी नै छ । ती सबै चुनौतीको सम्बोधन गरेर अगाडि बढ्दैछौँ । 

यो पालिकाका आवश्यकता के के पहिल्याउनु भएको छ ?

 यस नगरपालिकाका आवश्यकताको सूची त लामो नै छ तर ती सबै क्षेत्रलाई प्राथमिकीकरण गर्दै स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनको विकासमा हामीले जोड दिएका छौँ । यहाँको अहिलेका आवश्यकता पनि यिनै हुन् । हामीले यहाँका वडा वडाबाटै सामान्य उपचार हुने सेवा प्रदान गर्न थालेका छौँ । 

शिक्षाको गुमेको शाख फर्काउनु छ । शिक्षालाई गुणस्तरीय, व्यावसायिक, प्रविधिमैत्री बनाउनै अगाडि बढ्नुपर्नेछ । कृषि क्षेत्रलाई पनि व्यावसायिक बनाउँदै उत्पादन भएको सामानको ब्रान्डिङ गरी बजारीकरण गर्नु जरुरी छ । त्यस्तै मानव संसाधन विकासका लागि चाहिने कुरा धेरै छन् । सिँचाइ खानेपानी, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा निकै धेरै काम गर्नुपर्ने छ । मुख्यतः पर्यटनको विकासका लागि केही काम सुरु भएका छन् । केही कामका लागि प्रदेश सरकारलाई गुहारिरहेका छौँ ।  

नगरपालिकाको आन्तरिक स्रोतको परिचालन कसरी गर्दै हुनुहुन्छ ?

हाम्रो आन्तरिक स्रोत त्यति धेरै छैन तर स्थानीय तह सञ्चालन गर्न त्यो अत्यावश्यक रहेछ । यो बढाउनु पर्छ भनेर हामी लागिपरेका छौँ । हाम्रा भवन, जनताले तिर्ने तिरो र अन्य ठेक्काबाट थौरै मात्र राजस्व उठ्ने गरेको छ । त्यसैले राजस्वको दायरा बढाउनु पर्छ भनेर हामी लागेका छौँ । साथै जनताले पाउने सेवामा कुनै कमी नआओस् भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।

सङ्घ र प्रदेशसँग तपाईंको सहकार्य कस्तो रहेको छ ?

सङ्घ र प्रदेशसँग नियमित र निरन्तर सहकार्य भइरहेकै छ र गर्नै पनि पर्छ किन कि ठुलठुला काम गर्न सङ्घ र प्रदेशसँग नै भर पर्नु पर्छ । पूर्वाधार, पर्यटन, कृषि सुशासनलगायतको क्षेत्रमा सङ्घ र प्रदेशसँगकै सहकार्यमा गरिरहेको छौँ । अहिले सङ्घ र प्रदेशसँग सहकार्य नगरी अगाडि बढ्न सक्ने विकल्प नै छैन । 

यहाँका अबका योजना के के छन् ?

जनताका चाहना धेरै छन् । स्रोतसाधन सीमित छ । हामीले कृषिको क्षेत्रमा काम गरिरहेका छौँ । जस्तो एभोकाडोको राजधानी घोषणा गरी कृषकलाई यो खेतीको लागि प्रेरित गर्‍याैं । अब यसमा देखिएको समस्या समाधान गर्नु छ । बजार सहज बनाउनु छ । मूल्य शृङ्खलासँग जोड्नु छ । खानेपानी यहाँको ठुलो समस्या हो । यसलाई केही समाधान गर्नै पर्छ । ग्रामीण क्षेत्रबाट बसाइँसराइ रोक्न स्थानीयलाई रोजगारीसँग जोड्नु, स्वास्थ्य र  शिक्षाको अवस्थामा व्यापक सुधार गर्दै जाने योजना छ । कृषि र पर्यटन मुख्य आधार हुन् त्यही अनुरूप काम पनि गरिरहेका छौँ । समग्रमा पालिकालाई दिगो विकासको बाटोतर्फ उन्मुख गर्ने मुख्य योजना हो । 

अन्य पालिकाभन्दा तपाईंको पालिकाले गरेको फरक कार्य के छ ?

धेरै छन्, हामीले एभोकाडोको राजधानी घोषणा गरेर नयाँ अभियान सुरु गरेका छौँ । यो नेपालमै पहिलो हो । यो धेरै सफल कार्यक्रम पनि हो । यसको प्रतिफल देखिन थालेको छ । धनकुटा नगर क्षेत्रमा फुसको छानो हटाउने अभियान सुरु ग-यौँ । प्रत्येक वडामा स्वास्थ्य सेवा पु-याएका छौँ । धनकुटा नगर क्षेत्रमा मात्र बसोबास रहेको आठपहरिया जातिको कला संस्कृति जोगाउन विशेष कार्यक्रम ल्याएका छौँ । सङ्ग्रहालय निर्माणको चरणमा छ । विभिन्न संस्थासँगको सहयोगमा नमुना गाउँ बनाउन लागेका छौँ । कृषिलाई यान्त्रिकीकरण गर्न सहयोग गरेका छाैं । सानो र थोरै आम्दानी भए पनि आफ्नो प्रहरी बनाउनुपर्छ भनेर नगर प्रहरीको अभियान सुरु गरेका छौँ ।