• ११ मंसिर २०८१, मङ्गलबार

नेपाली समाजमा वर्गको स्थिति

blog

प्रायः हरेक देशका कम्युनिस्ट पार्टीले सङ्गठन निर्माण गर्न र क्रान्तिका कामलाई अगाडि बढाउन समाजमा विद्यमान वर्गहहरूको स्थिति तथा वर्ग संरचनामा आइरहेको परिवर्तनबारे गहिरोसँग अध्ययन र विश्लेषण गरेर तदनुरूप क्रान्तिको कार्यनीतिक कार्यदिशा निर्धारण गर्ने गर्छन् तर बुर्जुवा पुँजीवादी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरूले भने समाजको वर्ग स्थितिको विश्लेषण गरेर नीति तथा कार्यक्रम तयार गर्ने गरेको पाइँदैन ।

मुलुकमा २०६२/६३ को युगान्तकारी परिवर्तनबाट राजनीतिक हिसाबले सामन्तवादको अन्त्य भएको छ । सँगसँगै समाज पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको छ । अब मुलुकमा समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्ने दिशामा मुलुकलाई अगाडि बढाउनु पर्ने अभिभारा छ । यस सन्दर्भमा वर्ग स्थितिमा परिवर्तन भई रहेको छ । नवउदारवाद र विश्वव्यापीकरणले समाजमा गम्भीर खालको समस्या पनि उत्पन्न गरिरहेको छ । साथै वर्गहरूको स्थिति तथा वर्ग संरचनामा आइरहेको परिवर्तनबारे गहिरोसँग अध्ययन र विश्लेषण हुनु जरुरी छ । समाजलाई आमूल परिवर्तन गर्ने विषय, मानिसलाई रोग, भोक, अभाव र शोषणबाट मुक्ति सँगसँगै सामाजिक मुक्ति दिलाउने विषय स्वयम् समाजका मानिसबिचको सम्बन्ध र उनीहरूको साझा प्रयत्नबाट मात्र सम्भव हुने र सामाजिक मुक्ति भनेको वर्गीय मुक्तिको विषय हो भन्ने कुरा माक्र्सवादले उल्लेख गरेको छ । 

मानिस मानिसबिच मानवोचित व्यवहार गर्ने, अग्लो होचो, माथिल्लो जात, तल्लो जात र वर्ण लिङ्गका आधारमा विभेद नगर्ने विषय नै साँचो अर्थमा सामाजिक मुक्तिको विषय हो । यसरी मानव जातिका बिचमा विभेद गर्ने र शोषण गर्ने भनेको वर्गमा विभाजित समाज रहेसम्म यो निरन्तर भई रहन्छ । समाजमा खास गरी दुई वर्ग पुँजीपति वर्ग र श्रमजीवी वर्गका बिचमा चलिरहने सङ्घर्षले यस्तै विभेद र शोषण गरिरहन्छ । यसरी विभेद र शोषणलाई अन्त्य गर्न वर्ग सङ्घर्ष अनिवार्य हुन जरुरी हुन्छ । वर्ग सङ्घर्षको माध्यमबाट वर्ग उन्मूलन हुन्छ र मानव जातिको मुक्ति प्राप्त हुन्छ भन्ने माक्र्सवादी सिद्धान्तको आलोकमा कम्युनिस्ट पार्टीले वर्ग विश्लेषण गरेर तदनुरूप रणनीति र कार्यनीति तय गर्नुपर्ने हुन्छ । क्रान्तिमा सफलता प्राप्त गर्न कुन वर्ग शक्ति मित्र हो ? कुन वर्ग शत्रु शक्ति हो ? भन्ने यकिन नगरी अगाडि बढ्दा अँध्यारोमा ढुङ्गा हाने जस्तो मात्र हुन्छ र क्रान्ति सफलतामा टुङ्गिँदैन वा क्रान्ति पछाडि धकेलिन्छ । हाम्रै नेपालका सन्दर्भमा सही वर्ग विश्लेषण गरेर मित्र शक्तिसँग कार्यगत एकता वा एकता गरेर प्रमुख शत्रुलाई प्रहार गर्न नसक्दा सामन्तवाद विरोधी राजनीतिक आन्दोलन झन्डै छ दशक लामो अवधिसम्म सञ्चालन भयो । त्यसो हुँदा वर्गीय मुक्ति एवं सामाजिक मुक्तिको प्रश्नमा समाजमा विद्यमान वर्गहरूको स्थितिका बारेमा सही विश्लेषण गरेर अगाडि बढ्नु पर्ने अवस्था छ । नेपालमा सरकारी स्तरबाट आर्थिक, सामाजिक अवस्था र वर्गहरूको वास्तविक स्थितिबारे अध्ययन र अनुसन्धान गरेर तथ्य, तथ्याङ्क प्रकाशित भएको पाइँदैन । त्यसले गर्दा आर्थिक विकास र समृद्धि हासिल गर्ने सन्दर्भमा मानिसहरूको जीवनस्तरलाई माथि उठाउने, विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक शोषण र भेदभावबाट मुक्त गर्ने विषय चुनौतीपूर्ण रहेको छ । 

कम्युनिस्ट पार्टीले समाजमा वर्गहरूको गहिरोसँग अध्ययन र अनुसन्धान गरेर वर्ग विश्लेषण गरी सोका आधारमा रणनीति तथा कार्यनीति तय गर्नु पर्ने हो तर यसरी वर्ग विश्लेषण गर्ने कार्य कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि भएको पाइँदैन । पुष्पलालले २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गरेपछि पहिलो महाधिवेशनमा प्रस्तुत दस्ताबेजमा सामन्ती, भूमिपति, उदार पुँजीपति, ठुला पुँजीपति, राष्ट्रिय पुँजीपति, निम्न पुँजीपति, धनी किसान, मध्यम किसान, भूमिहीन र मजदुर रहेको उल्लेख गर्दै सामन्ती, भूमिपति, उदार पुँजीपति, ठुला पुँजीपतिलाई शत्रु वर्गको रूपमा उल्लेख गरिएको थियो । 

२०६२/६३ को युगान्तकारी परिवर्तनपछि नेपाली समाज स्वाभाविक रूपमा पुँजीवादी सामाजिक आर्थिक ढाँचा भएको समाजमा रूपान्तरित भएको छ । उत्पादनको ढाँचाको हिसाबले समाज पुँजीवादी उत्पादन पद्धति र पुँजीवादी उत्पादन सम्बन्ध पूर्ण रूपले स्थापित भएको छ । खास गरी यस किसिमको उत्पादनका ढाँचामा पुँजीपति वर्ग र श्रमिक वर्ग रहेका छन् । यसको वरिपरि अन्य वर्ग पनि हुन्छन् तर क्रान्तिमा निर्णायक वर्ग भनेको यी दुईबिचको सङ्घर्ष र टक्कर नै प्रमुख बन्ने गर्छ । नेपाली समाजमा आधारभूत वर्गको रूपमा रहेको पुँजीपति वर्ग र श्रमिक वर्गबाहेक पुँजीपति वर्ग अन्तर्गत दलाल, राष्ट्रिय वा मध्यम पुँजीपति, निम्न पुँजीपति वर्ग, किसान वर्ग र श्रमजीवी वर्ग रहेका छन् । 

यसरी समाजमा रहेका विभिन्न वर्गबिच टक्कर वा द्वन्द्व चलिरहेको छ, जसलाई अन्तरविरोध भनिन्छ । यतिबेला नेपाली समाजमा थुप्रै अन्तरविरोध छन् । त्यसमध्ये तीन वटा अन्तरविरोध रहेका छन् । पहिलो–दलाल पुँजीवाद र व्यापक जनताको बिचको अन्तरविरोध, दोस्रो– साम्राज्यवाद र नेपाल राष्ट्रबिचको अन्तरविरोध र तेस्रो–प्रभुत्ववाद, विस्तारवाद र नेपाल राष्ट्रबिचको अन्तरविरोध रहेका छन् । यसबाहेक समाजमा जातीय, धार्मिक, लैङ्गिक, क्षेत्रीय अन्तरविरोध छन् । यी अन्तरविरोधका जड भनेकै आधारभूत अन्तरविरोधको उपज (बाई प्रोडक्ट) हुन् । 

नेपाली समाज पुँजीवादी सामाजिक आर्थिक ढाँचामा रूपान्तरित र विकसित भए पनि यसले दलाल पुँजीवादको चरित्र लिएको छ । नेपालको आर्थिक सामाजिक विकासमा दालाल पुँजीवाद बाधक बनेको छ । तसर्थ यतिबेला नेपाली समाजको प्रधान वर्गीय अन्तरविरोधहरू बाह्य रूपमा साम्राज्यवाद र आन्तरिक रूपमा रहेको दलाल पुँजीवाद र व्यापक जनताबिचको अन्तरविरोध नै प्रधान वर्गीय अन्तरविरोधको रूपमा रहेको छ । नेपाली क्रान्तिलाई पूर्णतामा पु¥याउन प्रधान वर्गीय अन्तरविरोधको मात्रै ठहर गरेर हुँदैन । दलाल पुँजीवादलाई प्रश्रय दिने र संरक्षण गर्ने प्रधान राजनीतिक अन्तरविरोधलाई पनि ठम्याएर तदनुरूप कार्यनीति तय गर्नु पर्छ । यतिबेला नेपालका राजनीतिक पार्टीले यात दक्षिणपन्थी यात क्रान्तिकारी धारबाट भूमिका निर्वाह गरिरहेका छन् । 

नेपाली क्रान्तिमा दक्षिणपन्थी तथा दलाल पुँजीवादी शक्ति नै बाधक बनेको छ । संविधानले दिशाबोध गरेको समाजवादी आर्थिक सामाजिक नीतिबाट पछि हटेर उही पुँजीवादलाई प्रश्रय गर्ने नवउदारवादी अर्थनीतिबाट अगाडि बढिरहेको देखिन्छ । वामपन्थीहरू र लोकतान्त्रिक शक्तिहरूको गठबन्धनबाट बनेको सरकारले जनताको शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, रोजगारी, सामाजिक सुरक्षाको हकलाई सुनिश्चित गर्ने र व्यापक मात्रामा औद्योगिकीकरण गरेर उत्पादन र रोजगारी विस्तार गर्नु तथा देशभित्रको श्रम शक्तिलाई उत्पादन र रोजगारीमा जोड्नुको सट्टा श्रम निर्यात गर्ने नीति अवलम्बन गर्ने र आयातमुखी नीति अवलम्बन गर्ने आर्थिक नीति नै अहिलेको मुख्य समस्या हो । 

नेपाली समाजमा वर्गहरूको विद्यमान स्थितिबारे विश्लेषण गर्न आवश्यक छ । सन् १९९० को दशकदेखि अवलम्बन गरिएको नवउदारवादी अर्थतन्त्रले धनी झन् धनी हुँदै जाने, निम्न मध्यमवर्ग पनि जीवनयापनको विषय महँगो बन्न थालेपछि गरिबीतिर नै धकेलिने, गरिब पनि गरिबीको रेखाभन्दा माथि उठ्न नसक्ने ढङ्गले नवउदारवादले आर्थिक असमानता बढाएर लगेको छ । देशभित्र दिगो र फलदायी रोजगारीका अवसर नहुँदा ४०/५० लाख मानिस रोजगारीका लागि बिदेसिएका छन् । बिदेसिएका मध्ये कतिपय केही वर्षपछि स्वदेश फर्किएका छन् र अहिले उनीहरूको अवस्था कस्तो छ ? थाहा पाउन सक्ने स्थिति छैन । 

नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भएपछि अब क्रान्ति नै आवश्यक छैन भनेर वामपन्थी वृत्तकै कतिपय नेताहरूले भ्रम छर्ने काम गरेका छन् । समाजवादी क्रान्ति गरेर मात्र समाजवादी व्यवस्था स्थापना गर्ने जुन प्रक्रिया वा चरण छ, यसका लागि पनि वर्ग विश्लेषण गर्नु जरुरी छ । 

  

Author

प्रेमलकुमार खनाल