• १० मंसिर २०८१, सोमबार

मेला/महोत्सवको रौनक

कलाकारको पहिचान र संस्कृतिको संरक्षण

blog

काठमाडौँ, माघ २२ गते  । पछिल्ला वर्षमा हिउँदको समय मेला/महोत्सवमय हुने गरेको छ । स्थानीय उद्योग वाणिज्य सङ्घ, विभिन्न सांस्कृतिक संस्था तथा स्थानीय निकायले समेत हिउँदको समयमा स्थानीय विशेषतासँग नाम जोडेर मेला/महोत्सव आयोजना गर्ने प्रचलन बढिरहेको छ । 

हिउँदे खेतीपाती लगाएर फुर्सदिलो भएका बेला लाग्ने मेला, महोत्सवले स्थानीय बजारको व्यापार, व्यवसायलाई चलायमान गराउँछ भने अर्कोतिर स्थानीय कला, संस्कृति तथा भाषाको संरक्षण गर्नमा योगदान दिएको हुन्छ । स्थानीय खाने परिकार, वेशभूषा तथा परम्परागत जीवनशैली झल्काउने प्रदर्शनी हुने गरेका छन् । 

हिउँदे याममा लाग्ने मेला, महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिइएको हुन्छ भने स्थानीय भाषा, गीत, कला, संस्कृति झल्काउने प्रदर्शनी पनि गरिन्छन् । 

हिउँदे यामका मेला, महोत्सवमा आफ्ना प्रस्तुति दिँदै आउनुभएकी गायिका रितु कँडेलले भन्नुभयो, “हिउँदभरि मेला, महोत्सव हुने गरेका छन् । ती महोत्सवमा कलाकारले आफ्ना प्रस्तुति गर्न पाउने भएकाले यसले कलाकारको पहिचान बढाउनुका साथै कलाकारको आर्थिक उपार्जन गर्ने स्रोत पनि भएका छन् ।”

हालैको सुदूरपश्चिम महोत्सवमा आफ्नो डेउडा प्रस्तुति दिएर फर्किनुभएका डेउडा सम्राट नन्दकृष्ण जोशीले भन्नुभयो, “मेला, महोत्सवको व्यापारिक तथा आर्थिक महत्व आफ्नो ठाउँमा छँदै छ, त्यसका अतिरिक्त लोप हुन थालेका कतिपय स्थानीय भाषा, संस्कृतिको प्रस्तुतिले पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्न सहज भएको छ ।” 

महोत्सवले स्थानीय कलाकारका प्रतिभा प्रस्फुटन गराउन पनि योगदान दिने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारलाई मेला, महोत्सवले स्थान दिने भएकाले लोकसंस्कृतिको जगेर्नाका लागि, पुरानो पुस्ता र नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने काम गरेको छ । 

संस्कृतिविद् पदमराज जोशीका अनुसार स्थानीय भाषा, संस्कृति देखाएरै महोत्सव चल्ने भएकाले यसको प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव लोकसंस्कृति जगाउनमा हुने गरेको छ । दर्जनौँ महोत्सवमा आफ्नो प्रस्तुति दिइसक्नुभएकी कँडेलले भन्नुभयो, “सुदूरपश्चिम जाँदा स्थानीय डेउडा भाका गाउनु पर्छ, दाङ कपिलवस्तुतिर टप्पा, बुटवलतिर आउँदा रोयला, सालैजिउ, टुक्का गाउनु पर्छ भने पूर्वतिर जाँदा पूर्वेली भाका गाउनु पर्छ । यसले कलाकारको क्षमताको परीक्षण पनि हुने गरेको । अर्को कुरा पुराना भाका नसुनेका नयाँ पुस्तालाई सुन्ने, सुनाउने काम पनि भएको हुन्छ ।”

महोत्सवमा स्थानीय भाषा, लोकसंस्कृतिलाई जगेर्ना गर्न विभिन्न प्रतियोगितासमेत सञ्चालन हुने गरेका छन् । जसले गर्दा पछिल्लो पुस्ताले आफ्नो भाषा, संस्कृति र परम्परासँग साक्षात्कार हुने मौका पाउने गरेका हुन्छन् ।