• १ जेठ २०८२, बिहिबार

जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन : माधवकुमार नेपाल

blog

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुसालद्वारा लिखित पुस्तक 'जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम' को लोकार्पण समारोहमा मन्तव्य राख्नुहुँदै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । तस्बिरः केशर सुनार/रासस

काठमाडौँ, माघ २१ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताउनुभएको छ।

पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति सङ्केत गर्दै उहाँले जनताको विश्वास कसरी जित्ने ? भन्ने नाममा जबजको विचारलाई परित्याग गर्ने कुरालाई आफूहरूले कुनै पनि अर्थमा ठिक भन्न नसकिने तर्क गर्नुभएको हो। 

पार्टीका उपाध्यक्ष डा. वेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ को आइतबार काठमाडौँमा एक कार्यक्रमकाबिच विमोचन गर्दै अध्यक्ष नेपालले हिजो जनताको बहुदलीय जनवादीलाई दक्ष प्रजापतिको टाउको भन्नेहरूले आज आएर पनि त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो।

उहाँले जनताको विश्वास जितेर लोकप्रियता हासिल गर्ने कुरा जबजको मान्यता भएकाले त्यसलाई अङ्गीकार गरेर आफूहरू अघि बढ्ने दोहोर्‍याउनुभयो। आज पनि कम्युनिस्ट पार्टीलाई सिद्ध्याउन देशी, विदेशी साम्राज्यवादी र प्रतिक्रियावादी लागि परेकाले त्यसबाट जोगिन पनि नेपालका कम्युनिस्टहरूले जनताको बहुदलीय जनवादी विचारमा चल्नु आवश्यक रहेको अध्यक्ष नेपालको भनाइ थियो। उहाँले जनताको बहुदलीय जनवादको सारतत्त्व नबुझेकाले मात्रै यसको विरोध गर्ने गरेको जिकिरसमेत गर्नुभयो।

अध्यक्ष नेपालले समाजमा वर्गहरू रहेसम्म विभिन्न पार्टी अस्तित्वमा रहने हुनाले पनि प्रतिस्पर्धाको राजनीतिमा जनताको विश्वास जित्ने जबजको अन्तरवस्तुको सान्दर्भिकता कायमै रहेको बताउनुभयो।