• १३ साउन २०८१, आइतबार

जनशक्ति र भौतिक पूर्वाधारको अभावमा आयुर्वेद स्वास्थ्य केन्द्र

blog

जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दमौलीको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ २१ गते । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौलीलाई भौतिक पूर्वाधार तथा जनशक्तिको अभाव भएकोे छ । यसले गर्दा स्वास्थ्य उपचारमा आउने बिरामीलाई सहज रुपमा सेवा प्रवाह गर्न सकिएको छैन । 

आयूर्वेद चिकित्सक, कविराज, वैद्य तथा अनमीको अभाव हुँदा सेवा प्रभावित भएको केन्द्रले जनाएको छ । सेवाग्राही दिनप्रतिदिन थपिँदै गएपनि पुरानो दरबन्दी अनुसारको जनशक्ति भएकोले सेवा प्रभावित भएको केन्द्रका प्रमुख डा.नारायण श्रेष्ठले बताउनुभयो । 

हाल केन्द्रमा १२ जना मात्रै कर्मचारी रहेको र बिरामीको चाप अनुसार दोब्बर पार्नुपर्ने श्रेष्ठले बताउनुभयो । आयूर्वेद चिकित्सक, कविराज, वैद्य एक-एक जना र अनमी दुई जना कम्तिमा पनि थप गर्न जरुरी देखिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार हाल आयूर्वेद चिकित्सक एक, वरिष्ठ कविराज निरीक्षक एक, वैद्य निरीक्षक चार, सहलेखापाल एक र ल्याब टेक्निसियन एक र बाँकी अन्य गरी १२ जना छन् । 

हाल दैनिक ७० जनाको हाराहारीमा बिरामी आउने गरेकोले जनशक्तिको कम भएको केन्द्रले जनाएको छ । जनशक्तिको अभावको अतिरिक्त व्यवस्थित संरचना नरहेको डा.श्रेष्ठले बताउनुभयो । रातमा भर्ना गरेर राख्ने बेड नभएको उहाँले जानकारी दिनुभयो । डा.श्रेष्ठले भन्नुभयो, "आलो घाउ हुन्छ त्यस्ता बिरामी हिँड्डुल गर्दा स्वास्थ्य समस्या पर्छ उनीहरु केही दिन केन्द्रमै बस्नुपर्ने हुन्छ तर पूर्वाधार नहुँदा सुविधा दिन सकिएको छैन ।" छ रोपनी जमिनको आवश्यक भएपनि दुई रोपनी मात्रै भएको श्रेष्ठले बताउनुभयो । 

उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी, नसा, आवाज रोकिने, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, बाथ, प्रसूति, बमनथेरापी, अम्लपित्त लगायत सेवा लिन धेरै बिरामी आउने गरेको केन्द्रका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले जानकारी दिनुभयो । यस केन्द्रमा स्वेदन यन्त्र, पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि मानिसको आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको छ । 

चापागाईले भन्नुभयो, “एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका व्यक्ति पनि आयुर्वेदिक उपचारमा आउने गरेका छन्, हामीले निको बनाएर पठाएका छौँ ।” चालु आर्थिक वर्षको छ महिनामा महिला सात हजार नौ सय ९५ र पुरुष पाँच हजार दुइ सय ९८ गरी १३ हजार दुई सय ९३ जनाले सेवा लिएको केन्द्रका सूचना अधिकारी सोमकान्त पौडेलले बताउनुभयो । 

पौडेलका अनुसार आर्थिक वर्ष ०७९-८० मा २० हजार आठ सय १४ जनाले सेवा लिएका छन् । आर्थिक वर्ष २०७८-०७९ मा १३ हजार चार सय ९९ र आर्थिक वर्ष २०७७-०७८ मा नौ हजार तीन सय २० जनाले  उपचार लिएका छन् । यस केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला गोरखा, लमजुङका बासिन्दा समेत उपचारका लागि आउने गरेका छन् । यो  केन्द्र गण्डकी प्रदेशमा प्रथम हुन सफल भएको छ । विभिन्न जनस्वास्थ्य सेवाको सूचकको आधारमा केन्द्र प्रथम भई पुरस्कार हात पारेको थियो ।

आर्थिक वर्ष २०७९-८० को प्रदेश स्तरीय वार्षिक समिक्षामा विभिन्न जनस्वास्थ्य सेवाको सूचकको आधारमा तयार गरिएका सेवा मापदण्ड मुल्याङ्कनमा गण्डकी प्रदेशका ११ जिल्लामध्येमा उत्कृष्ट कार्य गर्दै प्रथम हुन सफल भएको हो । अकुपंचर उपचार पद्धति, थेरापी, पायल्स् तथा फिस्टुलाको उपचारमा उल्लेखनीय कार्यहरु गरेको थियो । अस्पतालले विहान १० बजेदेखि दिउँसो दुई बजेसम्म मात्रै विरामी दर्ता गदै आएकोमा हाल एक घण्टा गरी दिउँसो तीन बजे सम्म सेवा थप गरिएको छ ।