• २१ असार २०८१, शुक्रबार

च्याउ खेतीतर्फ किसान आकर्षित

blog

मीना कँडेल

कावासोती, माघ २१ गते । पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ । व्यावसायिक च्याउ खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि नवलपुरमा फर्म दर्ता गरी किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । थोरै लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउ खेतीमा किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

व्यवसायमा संलग्न किसानलाई कार्यालयले बिउ बिजन उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग गर्दै आएको छ । अन्य सामाजिक संस्थाले पनि आफ्नो व्यावसायिक कार्यक्रममा च्याउ खेतीलाई समेट्ने गरेका छन् । कृषि विकास कार्यालयको कार्यक्रम अन्तर्गत च्याउ खेतीमा संलग्न किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।

नवलपुरको कावासोती–८ का टीकाप्रताप सेन ठकुरीले २२ लाख रुपियाँको लगानीमा पाँच वर्षदेखि च्याउ खेती गर्दै आउनुभएको छ । बाह्र वटा टनेलमा अहिले च्याउ उत्पादन भइरहेको छ । उहाँले सुरुमा घरमा दुई वटा टनेलमा च्याउ खेती गरी आम्दानी लिन थालेपछि दस कट्ठा जग्गा भाडामा लिएर खेती विस्तार गर्नुभयो । उहाँले कन्ये च्याउ होलसेलमा प्रतिकेजी दुई सय रुपियाँमा बेच्दै आउनुभएको छ । ठकुरीले गत वर्ष करिब पाँच क्विन्टल च्याउ बिक्री गरी यस वर्ष २० लाख मूल्यबराबरको १२ क्विन्टल च्याउ बिक्री गर्ने योजना अनुसार काम गरिरहनुभएको छ । १० वटा टनेलमा उत्पादन खर्च प्रतिटनेल एक लाख रुपियाँ हुने र खर्च कटाएर १० लाख रुपियाँसम्म यस वर्ष आम्दानी लिने लक्ष्य राखेको उहाँले बताउनुभयो । 

गैँडाकोट–५ का कर्णलाल श्रेष्ठले विगत चार वर्षदेखि छ कट्ठा क्षेत्रफलमा तीन टहरा बनाएर ६५ लाख रुपियाँ लगानीका साथ सुरु गरेको च्याउ खेतीबाट मनग्गे आम्दानी लिरहनुभएको छ ।