• ६ माघ २०८१, आइतबार

छ महिनामा पाँच करोड बढी राजस्व संकलन

blog

नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्र । फाइल तस्बिर

महोत्तरी, माघ २० गते । नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले छ महिनामा  पाँच करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा उक्त केन्द्रले पाँच करोड २३ लाख २२ हजार सात सय ६८ राजस्व संकलन गरेको हो । 

उक्त अवधिमा केन्द्रले विद्युत चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ । विद्युत चोरी जरिवाना, पुनः लाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम संकलन भएको हो । छ महिनामा दुई सय ९७ विद्युत चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ । यो कारबाहीबाट २७ लाख ८४ हजार एक सय ७७ राजस्व संकलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिनुभयो । 

सोही अवधिमा समयमा विद्युत महसुल नबुझाएर लाइन काटिएका चार सय ८८ सेवाग्राहीको लाइन पुनः जोडिदा तीन करोड ८१ लाख १२ हजार आठ सय ७६ राजस्व संकलन भएको छ । सोही अवधिमा सेवा क्षेत्रका चार सय २४ सेवाग्राहीको नयाँ लाइन जडान गरिदा एक करोड १४ लाख २५ हजार सात १५ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । 

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये उत्तरी क्षेत्रमा गौशाला र दक्षिणी भेगमा जलेश्वर वितरण केन्द्रले सेवा दिँदै आएका छन् । गौशाला वितरण केन्द्रका सात स्थानीय तह सेवा क्षेत्र हुन् । पछिल्ला केही वर्षयता विद्युत चोरी (चुहावट) का घटना बढेपछि अभियानकैरुपमा अनुगमन बढाइएको कार्यालय प्रमुख झाले बताउनुभयो । यस अभियानमा विद्युत चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ । रासस