• ११ मंसिर २०८१, मङ्गलबार

राजनीतिले इमानदारी गुमाएकै हो त ?

blog

राजनीतिक दलका नेता र कार्यकर्ताले स्वाभिमानी गुमाएका कारण राजनीति नीतिविहीन भएको आभास हुँदै छ । यथार्थमा भन्ने हो भने नैतिकताबिनाको राजनीति आत्महत्या हो । वास्तविक राजनीति दल, नीति र सिद्धान्तको आधारमा गठित भएको समुदाय हो । जति ठुलो जमात सङ्गठित गर्न सक्यो त्यति ठुलो त्यो दलको जग बलियो हुन्छ । त्यसैले ती दलले आफ्नो सङ्गठन बलियो पार्न अनेकाैँ दाउपेच गरी लोकप्रिय भएर जनतालाई प्रभाव पार्न खोज्छ । जुन उद्देश्य मतदानद्वारा चुनिएर शक्तिका आधारमा नीतिको सञ्चालन गर्नु हो । 

राजनीतिक दलका नीति वा सिद्धान्तका आधारमा गठन भएको समुदायद्वारा आफ्नो सिद्धान्त अनुसार सरकार निर्माण गर्ने प्रयास गरिन्छ । यही अनुसार सरकारको प्रक्रिया फेरबदल भई नयाँ सरकारको निर्माण हुने प्रक्रिया हुन्छ । यसरी समयको अदलबदलमा राजनीतिको प्रक्रिया हेरफेर भइरहन्छ । प्रजातन्त्रमा धेरै दल क्रियाशील रहन्छ । दल क्रियाशील भएर नै रुसमा प्रजातन्त्रका लागि क्रान्ति भएपछि सन् १९१७ मा रुसका राजा जारिन निकोलसलाई सत्ताबाट हटाए । सन् १९१८ जुलाई १६ मा कम्युनिस्टका क्रान्तिकारी नेता युरोस्कीलगायत ११ जनाको मिलोमतोमा राजा जारिन निकोलस, महारानी एलेक्जेन्द्रा, चार छोरी र एक छोरालाई सुरक्षाका लागि भन्दै लगेर गोली हानेर हत्या गरियो । 

प्रजातन्त्रमा दलहरू सत्ता हत्याउने प्रयासमा लागिरहन्छन् । यो फेरबदलमा अवगुणको सङ्ग्रहबाट सरकार बनाउँदा हिरण्यकशिपुबाट प्रह्लाद जन्मेको सम्झेर त्यही क्रियाकलाप अपनाएर दललाई अगाडि बढाउनु पर्छ । मानिसको स्वभाव पद र पैसाको राजनीति गर्ने भएकाले कृष्ण नाम राखी कंशको काम गर्दछन् । त्यसैले राजनीति धमिलिएको छ । आजभन्दा दुई सय वर्षअगाडि राज्यसत्ता देश र जनताप्रति समर्पित थियो । देशलाई डुबाएर आपूm बाँच्न हुँदैन भन्ने भावना थियो । 

१८७१ साल कात्तिक १० गते भएको नालापानीको युद्धमा वीर बलभद कुँवरको कप्तानीमा शक्तिशाली अङ्ग्रेजसँग युद्ध भयो । त्यस युद्धमा बालबालिका, महिला र वृद्धले समेत लडाइँ लडेका थिए । सैनिकलाई पनि राजाको नुन खाएको सोझो गर्नु पर्छ भन्ने धारणा थियो । सात दिन अन्न नखाई, तीन दिन पानीसमेत नपिई लडाइँ लड्ने वीर गोर्खाली साहसको विम्ब मान्नु पर्छ । त्यसको सय वर्षपछाडि अहिलेको सय वर्षअगाडि सबैभन्दा ठुलो हत्या विसं १९०३ असोज २ गते कोतपर्व भएको थियो । जुन हत्यामा प्रधानमन्त्री फत्तेजङ्ग शाहलगायत ४० जनाको हत्या भएको थियो । उक्त घटनापश्चात् राजाको शासनलाई राणा शासनले राज गरेका थिए । 

अहिलेको २२ वर्षअगाडि २०५८ साल जेठ १९ गते नेपालमा पनि अचानक दर्दनाक घटना दरबार हत्याकाण्ड भयो । त्यो बेलादेखि विद्रोह सुरु भइराखेको छ । राजनीतिमा विद्रोह हुन्छ, हरेक युगमा विद्रोह युवाले गरेका छन् । विद्रोहले क्रान्ति गर्छ, क्रान्ति विचार हो । राजनीतिको हतियार विचार हो, यसलाई सक्रिय बनाउन एउटा यस्तो हातको आवश्यकता पर्दछ, त्यो हात राजनीति हो । विचारले मानिसको मनमा स्वभाव रोप्छ । त्यो युग अनुसार, समाज अनुसार मानिसको स्वभाव परिवर्तन हुन्छ ।

मानिसको बुद्धिबाट शक्ति क्रियाशील हुन्छ । यो सबै शक्तिका लागि शक्ति लगानी गरिएको हो । व्यवस्थामा शक्तिको अस्तित्व हुन्छ । व्यक्तिले व्यक्तिमाथि नियन्त्रण गर्न खोज्नाले एमाले र माओवादीको मेल हाल आएर अनमेल भयो । मह र घ्यू मिसायो भने विष हुन्छ, त्यस्तै एमाले र माओवादीबिचको सम्बन्ध पनि व्यक्तिको रबाफिलो व्यवहारले बिग्रेर विष साबित हुन आयो । व्यक्तिको मेलमिलापमा सङ्गठन बन्छ, सङ्गठनमा शक्ति हुन्छ । सङ्गठनको शक्तिले व्यवस्था चलाएको हुन्छ । 

उद्यमीले समय, शक्ति र साधनको लगानी गर्ने भएकाले यसको लगानीबाट लाभको अपेक्षा गरिन्छ । अहिलेको राजनीतिक शक्ति व्यापारी व्यवसायीका रूपमा परिणत भएको छ । यसैले भूमाफियाको बढी चलखेल हुन लागेको छ । भूमाफिया मौलाएका छन् । बैङ्कले जग्गामा ऋण दिन छोडेपछि जग्गाको मोल घट्यो । सहकारीको नाममा लिएको जग्गा घाटामा बेच्नुपर्दा सहकारी मारमा परेका हुन् । सोचाइमा भूमिलाई पुँजी भन्न मिले पनि व्यावहारिकतामा अलग गर्न नसक्नाले सहकारीलाई असहज भएको हो । 

राज्यमा आर्थिक मामलामा जब लेनदेन नीतिगत हुँदैन । उक्त देशका जनता कोही लाभ गर्ने र कोही भोकै मर्नुपर्ने हुन्छ । सरकारले रोजगारीको व्यवस्था कायम गरी लगानीबिचको सन्तुलन कायम गर्न सक्नु पर्छ । कर्मचारीले पनि इमानदार भई सहज तरिकाले जनतालाई सेवा दिनु पर्छ । हरेक उद्यमी व्यवसायीले आफ्नो पेसाप्रति वफादार भई जिम्मेवारी निर्वाह गर्नु पर्छ । जनताले पनि सरकारलाई सम्भव भएसम्म क्षमता अनुसार कर तिर्नु पर्छ ।

अल्पविकसित देशमा जनताका आय कम हुनु, लेखा सही ढङ्गले राख्न नसक्नु । आय लुकाउने प्रवृत्ति हुनु । इमानदार र कुशल प्रशासन भएन भने सही ढङ्गले राजस्व प्राप्त हुन सक्दैन । जनतालाई गरिबीको रेखामा धकेल्दछन्, राज्यसत्ता ढलमलिन्छन् । राजनीतिमा आफ्नो सन्निधि र निकटताका आधारमा उच्च ओहदामा अवसर दिनाले राजनीति नीतिविहीन राजनीति झैँ हुन्छ । आफ्नो लबीको मानिसलाई मात्र मौका दिनाले अयोग्य व्यक्तिमा अधिकार पर्न सक्छ । जसबाट अधिकारको दुरुपयोग भएर सरकार अलोकप्रिय हुन्छ ।

अहिलेको राज्य गणतन्त्र, लोकतन्त्र भनिए पनि अहिलेको अवस्था एकतन्त्रमा केन्द्रित भएर शक्ति छरिएको अवस्था छ । प्रजातन्त्रमा दस जनामध्ये नौ जना अबुझ हुन्छ । जसले अबुझहरूको हातमा जब शक्ति पर्न थाल्छ । जसबाट सिद्धान्तमा विद्वेषी प्रवृत्तिले सङ्गठनमा आँच आउँछ । यस्तै सिद्धान्त अनुसार लोकतन्त्र कुलीन तन्त्रमा परिणत हुन्छ । यसको कारण शक्तिको नीति अतिक्रमण भएकाले शक्ति स्थिर हुँदैन । 

मान्यजनको कुरा अमान्य भएर शक्ति छिन्नभिन्न भएर शक्ति बाँडफाँट भएर कुलीन तन्त्रमा परिणत हुन्छ । कुलीन तन्त्रमा राजनीतिक सङ्गठन गठबन्धनबाट विभाजन हुन्छ । राजनीतिमा धेरै कार्यकर्ताले पद बाँडफाँटमा मौका पाउने आशा रहन्छ । जसबाट राजनीतिको प्रक्रिया अल्पतन्त्रमा परिणत हुन्छ । साम्यवादबाट समाजवादमा अन्त्यमा पुँजीवादको चरम सीमा पुगेपछि गरिबी सङ्ख्या अत्यधिक मात्रामा वृद्धि हुन्छ । तब जनआन्दोलन गरी साम्यवादको खोजी गर्छ ।

यस्तो राजनीतिको चक्र दोहोरिन करिब सय वर्ष पनि लाग्न सक्छ । यो प्रकृतिको नियम नीतिनियममा धेरै प्रक्रिया दोहोरिन्छ तर घटना पृथक् हुने हुनाले इतिहास दोहोरिँदैन । शान्तिकालमा शासन सदाचार हुन्छ, क्रान्तिकालमा शासन डरत्रास, धम्की, विनाशकारी हुन्छ । धम्कीले शोषण गर्छ, शोषण हुने शासनमा अनावश्यक कानुन बन्छ । राजनीति गर्नेको मन द्वन्द्वले गर्दा अशान्त हुन्छ । जहिले पनि विपक्षसँग विचारीय युद्ध भइराखेको हुन्छ । विपक्षभन्दा आपूm अगाडि जानको निम्ति नदी नभएको ठाउँमा पनि पुल बनाउने कुरा गर्ने । हावामा महल बनाउने कुरा गर्ने । पहेँलो रङलाई सेतो भनेर जनतालाई रङ्गीन चस्मा लगाइदिने । धेरै जसो राजनीतिमा खिचातानीले गर्दा झुटको खेती गर्ने स्वभावको हुन्छ । मानिस जति टाठाबाठा भए त्यति छलकपट, दुष्टाचार, भ्रष्टाचार, अत्याचारको सिमाना नाघ्न थालेका छन् । 

आध्यात्मिकभन्दा भौतिक सुखसुविधाले मानिसको मनमा तीव्रता लिन थालेकाले यो अवस्था भएको हो । यो आधुनिक युगमा मानिस धनको निम्ति मरिहत्ते गर्छन् । कोहीभन्दा कोही कम हुन नचाहने, सबै एकसे एक जोडतोडका साथ लाउने–खाने मोजमस्ती गर्ने भएका छन् । ज्ञान र विवेकको कमीले नैतिकता, इमान, अनुशासनप्रति ध्यान दिन छाडेकाले मानिसले मानिसलाई तनाव दिन थालेका छन् । मानिसमा स्वार्थपन बढेकाले यसबाट अशान्तिपन बढेको हो । त्यसैले राजनीतिमा ज्ञानी बुद्धिजीवी पन्छिएर पर बस्न थालेकाले राजनीतिभित्र दिनमा पनि अन्धकारले छाएको छ । 

राजनीति मेसिन होइन, कुनै वस्तु पनि होइन, यो बेग्लै कार्य गर्ने निकाय हो । जसले मानव समाजमा मानवीय विचारमा भूकम्प, पहिरो, आँधीबेहरी ल्याउन सक्छ । यसले मानवीय क्षति गर्ने विश्वयुद्ध जस्तो भयानक युद्ध निम्त्याई महामारीभन्दा चौपट विध्वंसकारी स्थिति पनि ल्याउन सक्छ । राजनीतिक सच्चा खेलाडीले पाँच औँला बराबर नभए पनि मुठी कसेर काम लिन्छ । मौका नआउन्जेल कोरीको पनि पाउ मल्छ । मौका आएपछि कसैलाई टेरपुच्छर लाउँदैन, खोला तरेपछि लौरी बिर्सने जात हुन्छ । स्वार्थी राजनीति गर्नेहरू शासन गर्ने शेर जस्तो शक्तिशाली, स्याल जस्तो चतुर हुन्छ । राजनीतिमा देश सेवामा कमाइको हक नखोज्ने नेता समृद्ध र पूजित हुन्छ । शक्ति हातमा हुनाले शक्तिको प्रयोगको आशामा अनुग्रह पाउन खुसी बनाउन खोज्छन् । जनताले समृद्धिको आशाले पूmलको माला लाइदिन्छ । अवसरवादी बनी शक्तिको दुरुपयोग गरी खेलबाड गर्ने नेता जनताको नजरबाट गिर्न थाल्छ । सफल राजनीतिज्ञ हुन न्याउरी मुसोले झैँ सर्प खाएर माहुरीले झैँ  मह ओकल्न सक्नु पर्छ । चन्द्रगुप्तले मगधमा आक्रमण गर्दा हार भएपछि चन्द्रगुप्त र चाणक्य भेष बदलेर घुम्न जाँदा एउटा झुपडीमा आमाले बच्चालाई खाना ख्वाउँदा बच्चालाई गाली गरेकी सुन्छन् । कस्तो बच्चा यो, चन्द्रगुप्त जस्तो अक्षम । तब चन्द्रगुप्त र चाणक्य पानी पिउने बहना गरी भित्र गई आमासँग सोध्छन् । आमाले जवाफ दिन्छिन्, “रोटी छेउबाट नखाई एकैचोटि बिचमा खान थालेको जस्तै चन्द्रगुप्तले पनि मगधको बाहिर आक्रमण नगरी एकैचोटि भित्र पाटलीमा आक्रमण गरेकाले असफल भयो ।” 

चाणक्य र चन्द्रगुप्तले यही शिक्षाले पछिको आक्रमणमा मगध जित्न सफल भए । जब चाणक्यको पिता चणकलाई मारेको प्रतिशोधको ज्वाला मात्र नभई अविश्वासको कारणले चन्द्रगुप्तलाई चाणक्यले मगध नरेशलाई मार्न लगायो । चन्द्रगुप्तसँग प्रतिशोध लिन मन्त्रीले राजवैद्यलाई लगाएर चन्द्रगुप्तलाई बिरामीको बहाना गर्दा विषपान गराउन खोजेको थियो । चाणक्यले त्यो विष चन्द्रगुप्तलाई नख्वाई बिरालोलाई ख्वाए, बिरालो म¥यो । राजवैद्य आच्छु आच्छु भयो । राजालाई खुवाउन लागेको विष आफैँले खाई मरे । 

कौवा बाठो भएर फोहोर खाए झैँ राजवैद्य बाठो भएर विष खाएर मर्नुप¥यो । कौवाले कसैलाई विश्वास नगरे झैँ राजनीतिमा कसैलाई विश्वास गर्न हुँदैन भनी चाणक्यले मनमा अनविश्वासले अशान्त धुम मचेको हुन्छ । राजनीतिक छलकपटले गर्दा अधर्म छिपिरहेको हुन्छ । धर्मले अडेको संसार, अधर्मले बास बसेपछि सुखशान्ति कहाँ हुन्छ ! मात्रै रोगी मान्छेलाई शृङ्गारले छोपे जस्तै हो । भित्र मनमा अशान्तिको पिङ खेलाएर बाहिर छाँटकाँट तडकभडक गर्नुपर्ने । त्यसैले यहाँ अनुहार नपरेको दनुवारले सुन्दरतामा जित्ने भइरहेको छ । यसैले यहाँ तागतदार पोषणतत्वमा पनि कीटाणुले क्षतविक्षत गरिरहेको छ । हिजो यहाँ मानवीयतामा आत्मीय भाव थियो, मायापे्रम धार्मिक विश्वास थियो । 

अहिले वैज्ञानिक परम्परामा देखावटीमा मनग्गे विकास भए पनि भित्र खोक्रो भइरहेको छ । बाहिर देखावटी विकास भनेको मुखमा रामराम बगलीमा छुरा भनेको देखावटी पूजापाठ गरी भित्र धर्मको सिद्धान्त नमाने जस्तै हो । विभिन्न राष्ट्रले बौद्ध धर्म मान्यो भनेर देखासिकीमा बौद्ध धर्म मान्ने देख्न पाइन्छ । भित्र आत्मादेखि बुद्धको ज्ञान लिएर सिद्धान्त माने अझ राम्रो हुन्छ । अनि मात्र हामी यो परिग्रहको भुमरीलाई पार लगाई मोक्षको गतिमा पुग्न सक्छौँ । आजकाल इमानदार मानिस खोज्न मुस्किल भएकाले राजनीतिमा पनि नीतिविहीन राजनीति जस्तो भइराखेको छ ।

Author

अशोक शोकी