• २१ पुस २०८१, आइतबार

तीन दिने चरा उत्सव कार्यक्रम हुने

blog

चरा उत्सव कार्यक्रमबारे जानकारी दिइँदै अतिथिहरु । तस्विर : बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, माघ १९ गते । नवलपुर सदरमुकाम कावासोतीमा तीन दिने चरा उत्सव कार्यक्रम हुने भएको छ । कावासोती –१३ मा माघ २६ देखि २८ गतेसम्म दोस्रो नेपाल चरा उत्सव हुने भएको हो । 

कावासोतीलाई चरा पर्यटनको रुपमा विकास गर्न तथा चराहरुको संरक्षण र सचेतनामा जोड दिन उत्सव गर्न लागिएको आयोजक संस्था पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । 

जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति र बर्ड एजुकेसन सोसाइटीको सहआयोजनामा हुन लागेको उत्सवमा पंक्षी अवलोकन, पंक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो पदर्शनी, पंक्षी कला प्रतियोगिता, गिद्धका गतिविधि अवलोकन, जंगल सफारी तथा थारु, मुसहर र बोटे समुदायको संस्कृति झल्कने प्रस्तुति राखिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै, कार्यक्रममा जलवायु परिवर्तनले चराहरुको बसाइसराईमा पारेको प्रभाव, पंक्षी संगोष्ठी, प्यानल छलफललगायत कार्यक्रम पनि राखिएको चरावीद् एवं जटायु रेष्टुरेन्टका संयोजक डीबी चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल नारायणी नदी किनार क्षेत्रमा पाँच सय ५१ प्रजातिका चराहरु गणनामा सूचिकृत भएका छन् । 

चरा उत्सवमा १९ लाख ५० हजार रुपियाँ खर्च हुने र डब्लुडब्लुएफ, हिमालयन टे«ल, नेचर नेपाल, लिबर्ड लगायत संघ संस्था तथा गण्डकी प्रदेश सरकार, कावासोती नगरपालिका लगायतको आर्थिक सहयोग रहने वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टिकाराम गिरीले जानकारी दिनुभयो । 

चरावीद् चौधरीले नेपालमा पछिल्लो समय चरा पर्यटन आकर्षणको केन्द्र बन्दै गएको बताउनुभयो । चरा पर्यटन अरुभन्दा निक्कै महंगो पनि भएकाले यसबाट विदेशी मुद्रा भित्र्याउन सकिने उहाँको भनाइ छ । ‘चरा पर्यटन महंगो पर्यटन भएको छ । गाइडलाई नै दैनिक एकसय डलर तिर्नुपर्छ, चरा हेर्न तीन चार दिन, कहिलेकाँहि दश १५ दिनसम्म पनि कुर्नुपर्छ, चौधरीले भन्नुभयो, ‘त्यसैले पैसा हुने पर्यटक मात्र यो क्षेत्रमा आउँछन् । यसले विदेशी मुद्रा भित्र्याउन सहयोग पुग्छ ।’