• २० वैशाख २०८१, बिहिबार

बैंकहरु विकासमा सहयोगी हुनुपर्छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु विकास अभियानमा सहयोगी हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय बैंकलाई समेत मिटरब्याजी भएको आरोप लाग्नु दुःखद भएको उहाँले चर्चा गर्नुभयो । 

बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको सातौं राष्ट्रिय महाधिवेशन कार्यक्रममा शुक्रबार बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले मिटरब्याजीजस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु मिटरब्याजीजस्तै भएको बताउनुभयो । उहाँले बैंकहरुले ऋणीले लिएको कर्जाको ब्याज तीन महिनामा सावाँमा गाभ्न नहुने उल्लेख गर्दै त्यस्तो गरे मिटरब्याजीसरह हुने बताउनुभयो । 

उहाँले बैंकबाट कर्जा लिनेले पनि लगानी गरेर प्रतिफल आएपछि तिर्ने भएकाले बैंकले त्यहीअनुसार बुझ्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले प्रतिफल आउन नसक्नेगरी केही वर्षभित्र बैंकको ब्याजदर दोब्बर बनाएर बैंकले मात्र कमाउने तरिका ठिक नभएको उल्लेख गर्नुभयो । उहाँले बैंकको ऋण नतिर्ने आन्दोलन बैंकहरुले नै बनाएको आधारमा भएको दाबी गर्नुभयो । उहाँले बैंकहरुले ऋण आवश्यक नभएकालाई नै बिना धितोमा ऋण दिनेगरेको दाबी गर्नुभयो । 

उहाँले बैंकको ऋण सदुपयोग भए–नभएको अध्ययन र अनुगमन गर्न आवश्यक रहेको पनि बताउनुभयो । कर्जा दिँदा लिएको धितो छ भन्दैमा धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम नभएको अध्यक्ष ओलीको भनाइ छ । बैंकहरुले ऋणीलाई कर्जा दिँदा ब्याजदर घटाउन बढाउन सकिने उल्लेख गरेको भए पनि बैंकहरुले एकतर्फी रुपमा बढाउने काम मात्र गरेको चर्चा गर्नुभयो । उहाँले बैंकबाट कर्जा लिँदा दुई पक्षीय सहमति बिनाब्याजदर घटबढ गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकका निक्षेपकर्ता र ऋण लिनेहरु नै बैंकका जीवन भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बैंकहरुले नराम्रो नमान्नु होला । बैंकहरु पनि मिटरब्याजी नै भएका छन् । बैंक मिटरब्याजी होइन र तीन महिनाको ब्याजलाई सावाँमा गाभ्नु मिटरब्याजी त्यही हो ।’ तीन महिनामा साँवामा गाभ्ने नहुने उहाँको सुझाव छ । बैंकले दिएको ऋण सदुपयोग भए नभएको मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ छ । 

धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम नभएको उहाँले बताउनुभयो । बैंकहरुले लगानी गरेपछि अनुगमन र सदुपयोग भएको छकि छैन भनेर पनि हुर्नुपर्ने उहाँले बताउनुभयो । कर्जा लिँदा दुईपक्षीय सहमतिबिना ब्याज दर घटबढ गर्न नपाउनुपर्ने भन्नुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, “बैंकले एकतर्फी कर्जाको ब्याजदर बढाउनु हुँदैन । ऋणले ९ प्रतिशतमा लिएको कर्जा १४ प्रतिशतसम्म पुग्नेगर्छ । ऋण तिर्न जाँदा बैंकको हिसाव ठूलो बनाएर बसेको हुन्छ । यो राम्रो होइन ।”

बैंकहरुलाई मर्का परेर ब्याज बढायौं भनेर अरुलाई परेको मर्का पनि बैंकले बुझ्नुपर्ने उहाँको सुझाव छ । बैंकका निक्षेपकर्ता र ऋण लिनेहरु नै बैंकका जीवन भएको उहाँले चर्चा गर्नुभयो । ‘बैंकहरु नाफाखोर निर्मम साहुजी होइनन् । बैंक विकासका सहयोगी हुन् । विकासका प्रयासमा बैंकहरुले सहयोग गर्नुपर्छ’ उहाँले भन्नुभयो । 

उहाँले नेपालमा बीमा करकापले गर्नेगरेको बताउनुभयो । करले गरेको बीमाको तीन किस्तासम्म तिर्ने त्यसपछि बीमा अलपत्र पर्नेगरेको उहाँले उल्लेख गर्नुभयो । अलपत्र परेको बीमा कम्पनीको नाफामा जाने तर बीमा गर्नेले उसको लागत कटाएर पैसा फिर्ता गर्न नजानेको बताउनुभयो । उहाँले बीमा गरेर प्रिमियम तिर्न नसक्दा बीमकको पैसा ल्याप्स हुन नहुने बताउनुभयो । अध्यक्ष ओलीले देश अहिले राजनीतिक,सामाजिक र आर्थिक हिसावले अप्ठ्यारो स्थितिमा रहेको बताउनुभयो ।