• २० वैशाख २०८१, बिहिबार

बक्यौता नबुझाउनेको मिटर झिकेर कालोसूचीमा

blog

नेपाल विद्युत प्राधिकरण नेपालगञ्जको लुम्बिनी प्रदेश डिभिजन कार्यालय । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ १९ गते । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो लाइन काटिएको ६ महिना बढी समयसम्म पनि बक्यौता बुझाएर लाइन जडान गर्न नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्न सुरु गरेको छ ।

लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख राजीव सिंहले लाइन काटिएको ६ महिनासम्म पनि विद्युत महशुलको बाँकी बक्यौता रकम बुझाउन नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको बताउनुभयो । 

‘विद्युत उपभोग गरेवापतको महशुल रकम नबुझाइ विगत ६ महिनादेखि लाइन काटिएका ग्राहकको मिटर झिक्ने काम सुरु गरेका छौं’ उहाँले भन्नुभयो, ‘त्यस्ता ग्राहकको मिटर झिकेर कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउँछौं ।’

डिभिजन कार्यालयका लेखा प्रमुख केशरबहादुर ठाडाले डिभिजन कार्यालय अन्तर्गतका विभिन्न विद्युत वितरण केन्द्रबाट यो आर्थिक बर्षको साउनदेखि हालसम्म विद्युत महसुल नबुझाउने ९ हजार बढी सेवाग्राहीको लाइन काटिएको बताउनुभयो । 

लेखा प्रमुख ठाडाका अनुसार यो आर्थिक बर्षको साउनदेखि हालसम्म ९ हजार ३ सय ७८ जना महशुल नबुझाउने ग्राहकको लाइन काटिएको हो । सो संख्याका ग्राहकबाट १७ करोड ७१ लाख रुपियाँ विद्युत महशुल उठ्न बाँकी रहेको थियो । लाइन काटिएकामध्ये ८ हजार १ सय ६० जना ग्राहकहरुले पुनः लाइन जडान गरेको उहाँले जानकारी दिनुभयो । ८ हजार १ सय ६० जना ग्राहकबाट १२ करोड ४९ लाख बाँकी बक्यौता महशुल रकम उठेको लेखा प्रमुख ठाडाले बताउनुभयो ।

अझै करिब १२ सय सेवाग्राहीले लाइन जडान नगरेको डिभिजन कार्यालयले जनाएको छ । डिभिजन कार्यालयले १२ सय ग्राहकमध्ये लाइन काटिएको ६ महिना बढी समय भएका ग्राहकको पहिचान गरी मिटर बक्स झिक्ने र कालाेसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगान्जले बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व गरी ६ वटा जिल्लाका नेपालगञ्ज वितरण केन्द्र, गुलरिया वितरण केन्द्र, घोराही वितरण केन्द्र, कोहलपुर वितरण केन्द्र, राजापुर वितरण केन्द्र, लमही वितरण केन्द्र, तुलसीपुर वितरण केन्द्र, प्युठान वितरण केन्द्र, रुकुमपूर्व वितरण केन्द्र, रोल्पा वितरण वितरण केन्द्र गरी १० केन्द्रबाट आफ्नो सेवा प्रवाह गर्दैआएको छ ।