काठमाडौं, माघ १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्नसके राजश्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताउनुभएको छ ।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्नुहुँदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणका काम गर्दा राजस्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताउनुभएको हो ।
उहाँले सुरक्षण मुद्रणका कामहरू संवेदनशील भएको भन्दै राष्ट्रिय सुरक्षाका लागि पनि नेपाल भित्रै गर्नुपर्ने बताउनु भयो । उहाँले सुरक्षण मुद्रणको विषय गठन आदेशको आधारमा चल्दै आएको उल्लेख गर्दै कानुन बनेपछि गठन आदेश खारेज हुने र कानुन अनुरूप चल्ने जानकारी दिनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, ‘‘सुरक्षण मुद्रण जस्तो महत्त्वपूर्ण विषय गठन आदेशको हिसाबमा चलाउँदै आएका थियौँ । यो कानुन बनिसकेपछि त्यो गठन आदेश खारेज हुने र कानुनतः अगाडि बढ्ने सन्दर्भमा सुरक्षण मुद्रणलाई व्यवस्थित ढङ्गले यसका कामहरू अगाडि बढ्छन् । सुरक्षण मुद्रणका कामहरू संवेदनशील कामहरू पनि हुन् । ती संवेदनशील कामहरू हाम्रो देशभित्रै छपाई गर्न थाल्यौँ भने देशको ठुलो हिस्साको राजश्व बाहिर जानबाट बच्छ । र हाम्रो आफ्नो राष्ट्रिय सुरक्षाका हिसाबले पनि यो धेरै महत्त्वपूर्ण हुन्छ भन्ने लागेको छ ।’’
उहाँले नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैङ्क नोट, भिसा स्ट्रिकर, हुलाक टिकट र अन्य शुल्क स्ट्रिकर प्रकाशन गर्ने गरी विधेयक अगाडि बढाइएको बताउनु भयो । त्यस्तै सवारी चालक अनुमतिपत्र, जग्गा धनी दर्ता प्रमाण पुर्जा, डिजिटल नक्सा लगायत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मुद्रणसम्बन्धी सामग्रीहरू प्रकाशन गर्ने तोकेर विधेयक अगाडि बढाएको स्पष्ट पार्नुभयो ।