• १३ साउन २०८१, आइतबार

नख्खु कारागारमा ५० प्रतिशत कैदीबन्दीमा दृष्टिदोषको समस्या

blog

काठमाडौं, माघ १८ गते। कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुरमा आँखा अस्पतालले कारागारमा चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।

प्रोफेसनल सपोर्ट सर्भिस नेपालको सहयोगमा सञ्चालन गरेको उक्त शिविरमा आँखा रोग विशेषज्ञ प्रा.डा. सविना श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गर्नुभएको थियो।

अस्पतालले कारागारमा रहेका ८१६ जना कैदीबन्दीको आँखा जाँच गरेको थियो। अस्पतालका अनुसार आँखा जाँच गरिएकामध्ये ५० प्रतिशत कैदीबन्दीमा दृष्टिदोषको समस्या देखिएको छ। 

प्रा.डा. श्रेष्ठका अनुसार चार सय जना कैदीबन्दीमा दृष्टिदोषको समस्या देखिएको छ भने ९ जना मोतीबिन्दुका बिरामी भेटिएका छन्। 

१४८ जनालाई निःशुल्क चस्मा वितरण गरिनुका साथै मोतीबिन्दुका बिरामीलाई शल्यक्रिया निःशुल्क उपलब्ध गराइने अस्पताल व्यवस्थापक दीपक बोहोराले जानकारी दिनुभयो। 

नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा छन्। सङ्घ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत वार्षिक ३० लाख बढी बिरामीको आँखा जाँच हुने गर्दछ।

स्थापनादेखि सन् २०२२ सम्ममा सङ्घको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड दुई लाख ८६ हजार पाँच जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।