• १० मंसिर २०८१, सोमबार

प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइनलमा

blog

त्रिवि मैदानमा बिहीबार प्रतिस्पर्धा गर्दै आर्मी र गण्डकीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ १८ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियाेगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

आर्मीको जितसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । आर्मीले फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पुलिस लिग चरणको दुई खेल अगावै फाइनमा पुगेको थियो ।

बिहीबारको निर्णायक जितका लागि आर्मीले दिएको एक एक सय ३३ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा सबै विकेटको क्षतिमा ६४ रनमा समेटिएको थियो । गण्डकीका लागि ओपनर श्वर क्षेत्रीले सर्वाधिक १६ र करण पंगेनीले १५ रन बनाउनुभयो ।

अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । गण्डकीलाई सस्तैमा समेट्न बलिङमा आर्मीका सहाब आलले चार विकेट लिनुभयो ।  जितेन्द्र मुखिया र कुशल मल्लले दुई दुई विकेट लिनुभयो । 

यसअघि पसिहले ब्याटिङ गरेको आर्मीले ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय रन बनाएको थियो । आर्मीका लागि  इम्रान शेखले सर्वाधिक ३४ रन बनाउनुभयो । सोमपाल कामीले २३, कप्तान विनोद भण्डारीले १९ र कुशल मल्लले १५ रन बनाउनुभयो । बलिङमा गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले दुई दुई विकेट लिनुभयो । 

जितसँगै आर्मीले नौ खेलबाट १४ अङ्क बनायो । एक खेल खेल्न बाँकी पुलिसले अपराजित रहँदै आठ खेलबाट १६ अङ्क बनाएको छ । आर्मीको जितसँगै बागमती र मधेशको फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । आर्मी, पुलिस, बागमती र मधेश प्रदेश एलिट ट्रफीको लागि छनोट भएका छन् ।