• ११ मंसिर २०८१, मङ्गलबार

भ्रष्टाचार रोक्न उपचारात्मक कार्यक्रम

blog

नेपालमा भ्रष्टाचार एउटा महारोगको रूपमा रहेको छ । आर्थिक अपराधको रूपमा रहेको यस महारोगले राज्यको तल्लो तहसम्म गाँजेको छ । भ्रष्टाचारले विकास निर्माणमा नकारात्मक असर पुर्‍याइरहेको छ । सबै स्थानमा भ्रष्टाचारले आफ्नो स्वरूप लिइरहेको छ । प्रायः धेरै निकायमा भ्रष्टाचार हुने गरेकै छ । कहाँ कति भ्रष्टाचार हुन्छ भन्ने मात्र हो । कम बजेट भएको विकासे अड्डामा कम भ्रष्टाचार हुने गर्छ भने धेरै बजेट हुने विकासे अड्डामा धेरै भ्रष्टाचार हुने गर्छ । राज्यमा लोकतन्त्र आयो, सङ्घीयता आयो, जनताले चाहे अनुसारको शासकीय व्यवस्था पनि बन्यो र स्थानीय निकायमार्फत जनप्रशासन घरदैलोसम्म पुग्यो । प्रशासन तथा व्यवस्थापनमा धेरै परिवर्तन भयो । सरकारले पनि आफ्नो कार्यशैलीमा सुधार गर्न धेरै प्रयास गर्‍यो । भ्रष्टाचार निवारणमा सरकारले हरेक वर्ष कार्यक्रमहरू पनि ल्याउने गरेकै छ तर भ्रष्टाचार अलिकति पनि घट्न सकेको छैन । यो रोग माथिदेखि तलसम्म फैलिएको छ । 

भ्रष्टाचारीले राजनीतिक संरक्षण र दलीय टेको पाउने हुनाले उनीहरूको मनोबल वृद्धि भइरहेको हुन्छ । कतिपय राजनीतिक नियुक्ति पाएका पदाधिकारी हुन् वा माथिल्लो ओहोदाका कर्मचारी नै किन नहुन्, जुन निकायमा गए पनि आर्थिक अनियमितताका स्रोत खोजिरहेका हुन्छन् । त्यसैले धेरै बजेट चलखेल गर्न पाउने मन्त्रालय तथा कार्यालयमा काम गर्न जान खोज्नेहरू भ्रष्टाचार गर्न पाइन्छ भनेर नै हो भन्न सकिन्छ । 

कर्मचारीको सेटिङ र मिलेमतोबिना भ्रष्टाचार हुन सक्दैन । राम्रो बजेट भएका संस्थामा यस्ता भ्रष्टहरूले कार्यालयभित्रै पैसालाई दाइँ गर्छन् भने थोरै बजेट भएका संस्थामा सार्वजनिक सेवा प्रवाह गर्दा सेवाग्राहीसँग रकम मागेर दुःख दिन्छन् । विभिन्न स्थानविशेषमा भ्रष्टाचारी यताउति सलबलाइरहेका हुन्छन् । भ्रष्टाचारीहरू आर्थिक चलखेल गर्न पाएनन् भने उनीहरूलाई छटपटी हुन्छ । मानसिक विचलन हुन्छ । त्यसैले कहाँ भ्रष्टाचार गर्न पाइन्छ भनेर उनीहरू खोज्न थाल्छन् । भ्रष्टाचार गर्न पाइन्छ भने काम गर्ने नत्र अर्को कार्यालयको खोजी गर्छन् । निर्माणाधीन आयोजना अन्तिम चरणमा पुगेपछि कतिपय टाठाबाठाहरूले नयाँ आयोजनामा सरुवा माग्ने कारण पनि यही हो । 

भ्रष्टाचार हुने स्थान तथा यसका स्वरूप पृथक् हुन्छन् । प्रशासनिक कार्यालयमा कुनै विशेष व्यक्ति वा पक्षको फाइल चाँडै प्रवाह गर्न वा नगर्न, अरूको कामभन्दा आफ्नो काम पहिला गरिदिन, कुनै पद वा ओहोदामा अरू कसैको नाम सिफारिस भएकोमा आफ्नो नाम सिफारिस गरिदिन, ठेक्कापट्टा स्वीकृत गरिदिन, कागजपत्र मिलाइदिन, मुद्दामामिला मिलाउन, निर्दोषलाई कारबाही गरी दोषीलाई उन्मुक्ति दिन आदि जस्ता गैरकानुनी काम गर्न रकम लेनदेन गरी भ्रष्टाचार हुने गर्छ । 

कर, राजस्व, दस्तुर, शुल्क आदि उठाउने स्थानमा सेवा गर्ने निम्नस्तरका कर्मचारीको घरमा रहेका विलासिताका सामान र उनीहरूको सामाजिक रवाफ एवं जीवनशैली हेर्दा भ्रष्टाचार तथा आर्थिक अनियमित गरिरहेको सजिलै आकलन गर्न सकिन्छ । सार्वजनिक सरोकार तथा जुनसुकै क्षेत्रको निर्णय गर्दा निर्णयको प्रकृति, निर्णयको महìव तथा निर्णयको प्रभावका आधारमा मोलाहिजा गर्ने गरिएको पनि पाइन्छ । राज्यका ठुला ठुला कार्यक्रम, आयोजना तथा परियोजना निर्माण वा सञ्चालन गर्दा विभिन्न सरकारी निकाय, सार्वजनिक संस्थान तथा विभिन्न सङ्घ सङ्गठनहरूले भुक्तानी गर्नुपर्ने हुन्छ । यस्ता ठुला रकमको भुक्तानी गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सौदावाजी हुने गर्छ । 

सार्वजनिक संस्थानमा सरकारबाट नियुक्त भई जाने कतिपय पदाधिकारीबाट आफू अनुकूल निर्णय गराएर, पार्टीका कार्यकर्तालाई भर्ती गराएर, कर्मचारीको बढुवा गर्न रकम लिएर, उद्देश्य तथा लक्ष्यबिनाको कार्यक्रम सञ्चालन गरेर, उच्च निकायलाई भ्रम र अन्योलमा पारी आफू अनुकूल कार्यक्रम स्वीकृत गराएर पनि भ्रष्टाचार हुने गरेको पाइएको छ । संस्थानका लागि गएका कतिपय प्रतिनिधिले सरकारी संस्थानलाई दुहुनो गाई बनाउँछन् । 

देशमा भ्रष्टाचार बढ्दै जाँदा सेवाग्राहीमाझ सरकारको विश्वास गुम्दै जान्छ । यसले गर्दा मुलुकको अन्तर्राष्ट्रिय जगत्मा साख खस्कन्छ । यस्तो प्रवृत्तिले सेवा लिन आउने नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने सोझासिधा र जागिरलाई पवित्र पेसाको रूपमा लिने कर्मचारीमा नैराश्यता र कामप्रति वितृष्णा हुन जान्छ । देशमा सलबलाइरहेको भ्रष्ट मानसिकता र भ्रष्टाचारी प्रवृत्तिलाई समयभित्रै नियन्त्रण नगरे राज्य नै भ्रष्टचारीको घेरामा पर्न पनि सक्छ । 

भ्रष्टाचार भनेको समाज, राष्ट्र, आमनागरिक, व्यक्तिगत मर्यादा, नैतिकता, आत्मसम्मान तथा मूल्यमान्यताको शत्रु हो । यसले कर्मचारीको मर्यादा खस्केर समग्रमा सरकारको विश्वास घटाउँछ । वास्तवमा भ्रष्टाचार गर्नु भनेको राज्य र नागरिकलाई ठग्नु, करदाताको रगत र पसिना चुस्नु र राष्ट्रलाई घात गर्नु हो । भ्रष्टाचारी राज्यको महाशत्रु, शोषक र दुष्ट व्यक्ति हो । भ्रष्टाचारी राज्यका महारोग हुन् । भ्रष्टाचारीले कहिल्यै पनि राष्ट्र र नागरिकको भलो गर्न सक्दैनन् । देश विकासका बाधक हुन् । 

भ्रष्टाचार निवारणका लागि राज्यमा प्रभावकारी कानुन, नीतिगत व्यवस्था तथा कार्ययोजना तयार गरिएका छन् । राज्यमा विद्यमान कानुन, कार्यविधि तथा कार्ययोजनाको कडाइका साथ कार्यान्वयन गर्न सकेमा भ्रष्टाचार, अनियमितता तथा आर्थिक अपराध जस्ता विकृतिको निवारण गर्न सकिन्छ । भ्रष्टाचार निवारणका लागि सरकारले प्रचारात्मक, निरोधात्मक तथा उपचारात्मक कार्यक्रम ल्याउनु पर्छ । भ्रष्टाचार निवारणमा सबैभन्दा महत्वपूर्ण हात जनताको हुन्छ । 

जनताले सामाजिक बहिष्कार गरेर भ्रष्टाचारीलाई निरुत्साहित गर्नु पर्छ । भ्रष्टाचारलाई सामाजिक रूपमा निन्दा र भत्र्सना गर्नु पर्छ । मुलुकमा राष्ट्रिय सदाचार कायम गरी भ्रष्टाचार निवारणमा ध्यान दिनु पर्छ । 

   

Author

मित्रमणि पोखरेल