• १३ साउन २०८१, आइतबार

रङ्गिन कटन क्यान्डी बिक्री गर्न प्रतिबन्ध

blog

जिल्ला प्रशासन कार्यालय तनहुँ ।

अमरराज नहर्की

तनहुँ, माघ १७ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले ‘रङ्गिन कटन क्यान्डी’ बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ । सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री–वितरण भइरहेको क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ रोडामाइन बिको प्रयोग भएको पाइएकोले तनहुँमा पनि प्रतिबन्ध लगाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला जाँच विश्लेषणबाट विषाक्त फेला परेकोले प्रतिबन्ध लगाइएको उल्लेख छ । 

काठमाडौँका विभिन्न स्थानका सडकपेटी, बजार, मेला लगायतमा खुल्ला रूपमा बिक्री भइरहेको रङ्गिन कटन क्यान्डी (चिनीमा रङ्ग मिसाइ रेसा गरी बनाइएको भुवादार मिठाई) मा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने अखाद्य रङ्ग रोडमाइन बी प्रयोग भएको पाइएकोले प्याकेटमा लेबल विवरण केही पनि नभएको त्यस्तो रङ्गिन कटन क्यान्डी नखानु-नखुवाउनु हुन सूचित गरिएको छ । 

साथै कटन क्यान्डीको उत्पादकले आफ्नो उत्पादन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका कार्यालयमा जाँच विश्लेषण गराइ खाद्य अनुज्ञापत्र लिएर मात्र बिक्री वितरण गर्नुहुन अनुरोध गरिएको छ । अटेर गरेमा मातहतको निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँबाट कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।

‘रङ्गिन कटन क्यान्डी’मा प्रयोग गरेको पाइएको रोडामाइन बी औद्योगिक उद्देश्यले कपडा, कागज आदिमा रङको रूपमा प्रिन्टिङमा प्रयोग गरिन्छ । यसले जनावर तथा मानव शरीरमा विभिन्न गम्भीर असर पुर्‍याउने भएकाले खाद्य वस्तुमा प्रयोग गर्न बन्देज लगाइएको छ । भारत लगायतका विभिन्न देशहरूलाई रोडामाइन बिको प्रयोगलाई गैरकानुनी मानिएको छ । चिकित्सकका अनुसार रोडामाइन बी शरीरमा प्रवेश गर्दा कोशिका र तन्तुहरूमा अक्सिडेटिभ तनाव उत्पन्न हुने भएकाले मानव शरीरका लागि विषाक्त मानिन्छ। लामो समयसम्म यसको प्रयोगले छाला, कलेजोमा समस्या वा क्यान्सरसम्मको गम्भीर समस्या निम्त्याउन सक्छ ।