• १५ मंसिर २०८१, शनिबार

आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने

blog

आँबुखैरेनी गाउँपालिकाको कार्यालय ।

अमरराज नहर्की

तनहुँ, माघ १७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । पालिकाका बासिन्दाहरुलाई रोजगारीको अवसरमा दिने मूख्य उद्देश्यले लगानी सम्मेलन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

जलविद्युत्, कृषि, पर्यटन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, साहसिक पर्यटन, औद्योगिक क्षेत्र, हस्पिटालिटी लगायतमा लगानी गरी रोजगारीको अवसरमा ल्याउन लगानी सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो । सम्मेलन आगामी चैतमा गरिने पालिकाले जनाएको छ । गाउँपालिकाको आयोजनामा र तनहुँ उद्योग वाणिज्य सङ्घ आँबुखैरेनी  बजार एकाइको समन्वयमा लगानी सम्मेलन हुने उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिनुभयो । 

उपाध्यक्ष अर्यालले लगानीकर्तालाई गाउँपालिकामा लगानीको अवसरलाई नजिकबाट चिनाउने मुख्य उद्देश्यसहित कृषि, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, प्रविधि तथा विविध क्षेत्रको परियोजना सञ्चालन गर्न लगानी सम्मेलनले मद्दत पुग्ने अपेक्षा लिइएको बताउनुभयो । उपाध्यक्ष अर्यालले भन्नुभयो, "राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका लगानीकर्तालाई पालिका बोलाएर लगानी गर्ने वातावरण सिर्जना गर्न खोजेका छौं ।"  

आर्थिक विकासका लागि ठुलो मात्रामा लगानी आवश्यक भएकोले सम्मेलन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । ठुला लगानीकर्ता, अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू, स्वदेशी लगानीकर्ता, विज्ञ र सरोकारवालालाई आमन्त्रित गरी पालिकामा लगानीको लागि आग्रह गरिने छ । द्रुत गतिमा आर्थिक विकास गर्ने, वैदेशिक मुद्रा भित्राउने, रोजगारी सृजना गर्ने, सरकारको आयलाई बढोत्तरी गर्ने उपयुक्त माध्यम भएकोले लगानी सम्मेलन गर्ने निर्णय भएको पालिकाले जनाएको छ।