• २० वैशाख २०८१, बिहिबार

पाल्पामा रेडियो नेपालको रिले प्रसारण

blog

पाल्पाको बगनासका स्थापना गरिएको रेडियोको रिले स्टेसन । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, माघ १७ गते ।
रेडियो नेपालले पाल्पाबाट एफएम रिले प्रसारण सुरु गरेको छ । पाल्पाको बगनासकाली–९, स्थित बगनास डाँडाबाट एफएम रिले स्टेसन स्थापना गरी रेडियो नेपालले प्रसारण सुरु गरेको हो ।

रेडियो नेपालले बगनासबाट पाँच सय वाट क्षमताको एफएम ट्रान्समिटर जडान गरी प्रसारण सुरु गरेको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराका कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवले बताउनुभयो । नेपाल टेलिभिजनसँगको सहकार्यमा टावर, भवनसहित अन्य भौतिक संरचना प्रयोग गरी एफएम रिले प्रसारण गरेको जनाएको छ ।

देशका सबै भू–भागमा प्रसारण पहुँच पुर्‍याउने लक्ष्य राखेको रेडियो नेपालले पाल्पाबाट ३२ औं रिले स्टेसनका रुपमा प्रसारण थालेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो । एफएम व्यान्डको १०३ मेगाहर्जमा सुरु गरिएको यो रिले प्रसारणबाट पाल्पा र स्याङ्जा जिल्लाका साथै गुल्मी, अर्घाखाँची, बाग्लुङ, पर्वत, नवलपरासी र रुपन्देहीका केही क्षेत्रमा रेडियो नेपाल स्पष्ट सुन्न सकिने छ ।

पाल्पाबाट रेडियो नेपाल सुन्न पाएपछि पाल्पाका स्रोता खुसी भएका छन् । विगत लामो समयसम्म रेडियो नेपालको कार्यक्रम सुन्न नपाएका पाल्पाका स्रोता रेडियो नेपालका कार्यक्रमहरू एफएम रेडियोमै सुन्न सकिने भएपछि खुसी भएका हुन् ।