• १ जेठ २०८२, बिहिबार

जनताले व्यवस्थाको विकल्प खोजेका छैनन् : मुख्यमन्त्री जम्कट्टेल

blog

सहिद दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल। तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, माघ १६ गते। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनताले व्यवस्थाको विकल्प नखोजेको स्पष्ट पार्नुभएको छ। सहिद दिवस २०८० को सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई मङ्गलबार हेटौँडामा सम्बोधन गर्दै समानुपातिक, समावेशी, विकास सहितको व्यवस्थाप्रति जनता सन्तुष्ट रहेको बताउनुभयो। 

‘‘जनताका छोराछोरी मन्त्री, मुख्यमन्त्री भएको सामन्ती तत्त्वलाई मन परेको छैन, उनीहरु छटपटाइरहेका छन्, त्यही तत्त्वले मात्रै अहिलेको व्यवस्थाको विरोध गरेको हो’’, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो। 

सामाजिक सुरक्षाका निमित्त लडेको स्मरण गराउँदै उहाँले बागमती प्रदेशका सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पत्रकारको जीवन निर्वाहसँग जोड्ने कार्यक्रम पनि आवश्यक रहेको बताउनुभयो। राज्यले खर्च गर्ने बजेट आम नागरिकको जीवन निर्वाहसँग जोडिने हुनुपर्नेमा उहाँले जोडदिनुभयो।

बागमती प्रदेश सरकारले शिक्षामा आवासीय व्यवस्था सहितको मोडेल बनाउने तयारी गरिरहेको जानकारी दिनुहुँदै प्राविधिक शिक्षा ९ देखि १२ कक्षा बनाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो। 

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले व्यवस्था परिवर्तन पश्चात् जनताको अवस्था परिवर्तन गर्न लागिपरेको बताउनुभएको छ। प्रदेश सरकार गठन भएको ६ वर्षको अवधिमा ऐन बनाउने क्रम जारी रहनुका साथै कार्यान्वयनको पाटोमा पनि निरन्तर अगाडि बढिरहेको उहाँको भनाइ छ। 

सहिद वासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यस्तै सहिद वासुदेव स्मृति पत्रकारिता पुरस्कारबाट नवराज शर्मा र नवराज न्यौपानेलाई नगदसहित सम्मानपत्रसहित सम्मानित गरिएको थियो। 

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, रिपोटर्स नेपालका अध्यक्ष ऋषि धमला, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, पत्रकार महासङ्घ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, हेटौँडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपाने, पत्रकार महासङ्घ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो।