• २० असोज २०८१, आइतबार

जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

blog

जिप दुर्घटनाका घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुँदै । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, माघ १६ गते । बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । 

मङ्गलबार दोगडाकेदारको सिल्लेगाडाबाट कालागाउँ जाँदैगरेको सुपप्र ००१००२ ज १५३७ नम्बरको जिप दिउँसो २ः४५ बजे दोगडाकेदार गाउँपालिका–२, कटौजपानीमा दुर्घटनमा परेको हो । जिप सडकबाट करिब एकसय मिटर तल खोलामा खसेको स्थानीयले बताएका छन् ।  

दुर्घटनामा परी मृत्यु हुनेमा १५ वर्षीया मनीषा बिष्ट रहनुभएको छ । घाइते हुनेमा दोगडाकेदार –८ का, जिपचालक ३० वर्षीय भूपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट घाइते भएका छन् । 


घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल बैतडीका डा. सुशील विकले बताउनुभयो । गम्भीर घाइते गणेश बिष्ट र भूपेन्द्र बिष्टलाई धनगढी रेफर गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । भूपेन्द्र गाडी चालक रहेको बताइएको छ ।  

घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो ।  दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।