विष्णुप्रसाद पोखरेल
दमक, माघ १७ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नयाँ तथा सुविधासम्पन्न बन्दीगृह बनाउनेभन्दा अपराध गर्ने तथा बन्दी हुनुपर्ने अवस्था ल्याउन नदिन के गर्न सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताउनुभएको छ।
उहाँले जानअन्जानमा भएका गल्तीलाई प्रायश्चित्त गर्ने थलोको रुपमा रहेको बन्दीगृहलाई व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो। ‘‘बन्दीगृहलाई सुधारस्थलको रुपमा लिइएकाले न्यूनतम मापदण्ड भने पूरा गर्नैपर्छ’’, उहाँले भन्नुभयो।
झापाको भद्रपुर कारागारमा रहेको बन्दी विकास पुस्तकालयको साधारणसभालाई मङ्गलबार उद्घाटन गर्नुहुँदै सभामुख घिमिरेले दोष नभएका पनि परिबन्दले बन्दी बन्नुपरेको कैयौं उदाहरण रहेको जनाउनुभयो। एकले अर्कालाई फसाउनका लागि भएका गतिविधिका कारण पनि बन्दी हुने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो।
‘राम्राराम्रा, सुविधासम्पन्न र ठुलाठुला बन्दीगृह बनाऔं भन्नेभन्दा पनि कोही पनि बन्दी बनेर आउनुनपर्ने परिस्थिति बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ भन्ने लाग्छ’, उहाँले भन्नुभयो, ‘के कारणले आज बन्दी हुनुपरेको छ त्यो बुझ्नु आवश्यक छ’, उहाँको भनाइ थियो।
चोरी गरेर कोही आएको छ भने चोरी कसरी नियन्त्रण गर्न सकिन्छ, अपराध गरेर आएको छ भने अपराध गर्ने प्रवृत्ति किन आयो त्यसलाई कसरी नियन्त्रण गर्नुपर्छ। चेतनाको अभावमा, ऐन कानुनको अभावमा, अपराधीकरणको मनोवृत्तिलाई न्यूनीकरण गर्न नसकेको अवस्थामा वा परिवारमा आमाबाबुले छोराछोरीलाई शिक्षा नदिएका कारणले वा यस्ता अन्य विभिन्न कारणले बन्दी हुने अवस्था आएको हुनसक्ने सभामुख घिमिरेले बताउनुभयो।
घिमिरेले झापा कारागारलाई व्यवस्थित बनाउन र यहाँका अप्ठ्यारालाई सजिलो बनाउन लाग्ने प्रतिबद्धता पनि जनाउनुभयो। ‘‘क्षमताभन्दा बढी कैदी बन्दीहरु यहाँ बस्नुपरेको विषयमा मेरो ध्यानकर्षण भएको छ र यसमा मैले सक्ने कोसिस गर्न तत्पर छु’’, उहाँले भन्नुभयो।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवाले कारागारमा रहेकाले नमुना रुपमा चलाएको बन्दी विकास पुस्तकालयको प्रशंसा गर्नुभयो। गृह जिल्ला झापामा सभामुख मङ्गलबार बिहान आउनुभएको हो। उहाँ दुई दिनसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभएको छ।