• १३ साउन २०८१, आइतबार

दुधौलीमा १५ शय्याकाे नगर अस्पताल निर्माण

blog

साङ्केतिक तस्बिर ।

बाबुराम देवकोटा

सिन्धुलीमाढी, माघ १५ गते । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–५ सिर्थौलीमा १५ शय्याको नगर अस्पताल निर्माण गरिएको छ । नवनिर्मित उक्त अस्पताल भवनको यही माघ २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन गर्ने कार्यक्रम तयारी भएको दुधौली नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका उप-प्रमुख चन्द्रकिशाेर थारुले उक्त भवन माघ २० गते शनिबार ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन गर्ने कार्यक्रम तयारी भएको जानकारी दिनुभयो । सङ्घीय सरकारको भ्याटबाहेक करिब १६ करोड रुपियाँको लागतमा उक्त नगर अस्पतालको दुई तलाको नयाँ भवन निर्माण भएको उहाँले बताउनुभयो । उहाँका अनुसार पालिकासम्म स्वास्थ्य सेवाको पँहुच सहज बनाउने नेपाल सरकारको नीति अनुरुप उक्त अस्पतालको २०७७ मङ्सिर १५ गते शिलान्यास भई निर्माण सुरु गरिएको थियो ।

जग्गा दाता र नगरपालिकाबाट खरिद गरेको समेत गरी नगर अस्पतालको जमिन करिब एक वबिघा छ । नगर अस्पताल सिर्थौली तत्काल १५ शय्याको भए पनि विस्तार गरि २५ शय्या बनाउने योजना रहेका नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सिर्थौलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई विस्तार गरी नगर अस्पताल बनाइएको हो ।

उप-प्रमुख थारुले भन्नुभयो, "अस्पताल निर्माणसँगै स्थानीयमा उत्साह छाएको छ । अस्पताल बनेको ठाउँमा पहिलो प्राथमिक स्वास्थ्य केन्द्र रहेको र सुत्केरी, गर्भ जाँच, नियमित खोप, ल्याब, सर्पदंश उपचार, स्वास्थ्य बिमा लगायतका सेवाहरु सञ्चालन भइरहेको छ ।" 

जिल्लाका अन्य स्थानीय तहले पनि धमाधम १५ शय्याको अस्पताल धमाधम बनाउँदै छन् । नौ वटा स्थानीय तहमध्ये जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा सबैभन्दा ठुलो सुविधासम्पन्न सिन्धुली अस्पताल हो । हाल ५० शय्या रहेको उक्त अस्पताललाई क्षमता विस्तार गरी एक सय शय्या बनाउन लागिएको अस्पताल विकास समितिका अध्यक्ष सतीशचन्द्र ढकालले जानकारी दिनुभयो ।

बाँकी अन्य आठ वटा स्थानीय तहले पनि नागरिकलाई स्थानीयस्तरमा नै आधारभूत स्वास्थ्य सेवाको सुविधा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गरेको सम्बन्धित स्थानीय तहले जनाएका छन्। सबैभन्दा पछि मरिण गाउँपालिकाले गत साउनदेखि उक्त अस्पताल बनाउन सुरु गरेको हो ।

मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि शिलान्यास भएर धमाधम निर्माण भइरहेको गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले जानकारी दिनुभयो । जग्गा विवादका कारण दुई वर्षदेखि १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडि बढेको गाउँपालिकाले जनाएको छ । 

गोलञ्जोर गाउँपालिकामा पनि उक्त अस्पताल निर्माणका लागि नक्सा (डिजाइन) पूरा भई टेण्डर प्रक्रियामा छ । फिक्कल गाउँपालिका–३ चनौटेमा दुई वर्षदेखि १० शय्याको अस्पताल भवन निर्माणाधीन अवस्थामा छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा पनि १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ। घ्याङलेख गाउँपालिका–३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निर्माणकार्य चाँडै सुल्झाएर अगाडि बढाइने पालिकाले जनाएको छ । 

जिल्लाको तीनपाटन गाउँपालिकाले चकमके बजारमा पनि सङ्घीय सरकारको १७ करोड ९१ लाख रुपियाँको लागतमा दुई वर्षदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माण गरिरहेको छ । गाउँमा रहेको प्रथामिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गरी भवन बनाउन सुरु गरिएको र अब एक वर्षभित्र सक्ने योजना रहेको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो ।