• १२ साउन २०८१, शनिबार

अप्पर सेतीमा लक्ष्मी सनराइजको लगानी

blog

काठमाडौँ, माघ १५ गते । कास्की जिल्लाको सेती नदीमा बनाउन प्रस्ताव गरिएको माथिल्लो सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैङ्कले लगानी गर्ने भएको छ । कुल चार अर्ब दुई करोड रुपियाँ लागत अनुमानको सो आयोजनामा ७५ प्रतिशत लगानी गर्ने गरी सम्झौता भएको अप्पर सेती हाइड्रो प्रालिले जनाएको छ ।  

२० मेगावाट क्षमताको अप्पर सेती हाइड्रोले २०७८ माघमा विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमति पाएको थियो । आयोजनाले गत असोज १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ ।

सो परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैङ्क एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापकहरूको रहने जनाइएको छ । लक्ष्मी सनराइज बैङ्कको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ३.०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढवा दिने बैङ्कको योजनालाई अझ सार्थक बनाउने अपेक्षा गरिएको छ ।

आयोजनाबाट वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्राप्त हुने छ । लक्ष्मी सनराइजले करिब एक हजार चार सय मेगावाट क्षमताका विभिन्न जलविद्युत् आयोजनामा लगानी प्रतिबद्धता जनाएको छ ।