• ७ जेठ २०८१, सोमबार

नेपाल–चीन सम्बन्ध पारस्परिक सम्मानमा आधारित छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

काठमाडौं, माघ १३ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको इतिहास शताब्दीयौं पुरानो भएकाले नेपालको समृद्धिका लागि चीन सरकारबाट सदियौंदेखि महत्वपूर्ण सहयोग प्राप्त हुँदैआएको बताउनुभएको छ ।

चीनको सिल्करोड इन्टरनेशनल थिङ्क ट्याङ्क एक्सचेन्ज सेन्टर, वल्र्ड साइनोलोजी सेन्टर र साइनो नेपाल मिडिया सोसाइटीको संयुक्त आयोजनामा शनिबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

“हाम्रा दुई राष्ट्रबिचको सम्वन्ध पारस्परिक र सम्मानमा आधारित छ । हामी नयाँ युगको मुहानमा उभिरहेका छौं” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “नेपाल र चीनबिचको सम्बन्ध प्रगाढ बनाउन यो युगले योगदान गर्ने विश्वास गरेका छौं । पछिल्ला वर्षहरूमा नेपाल–चीन सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ ।”

नेपालको सामाजिक–आर्थिक सहयोगमा चीनको प्रतिबद्धता र विकास अटल रहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले बेल्ट एन्ड रोड इनिसिएटिभ्स, कनेक्टिभिटी बढाउने र आर्थिक सहयोग प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताउनुभयो । 


नेपाल–चीन सहकार्यको एउटा आधारशिला विकास रहेको चर्चा गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “पूर्वाधार निर्माण, सडक, पुल, ऊर्जा परियोजनाहरूजस्ता महत्वपूर्ण निर्माणमा चीनको सहयोगले महत्वपूर्ण भूमिका खेलेको छ । नेपालको आर्थिक विकास र स्थिरतातर्फ सम्पर्क बढेको छ ।”

विभिन्न परियोजनामार्फत द्विपक्षीय सम्बन्धलाई मात्र बलियो नबनाइ क्षेत्रीय सहयोग र एकीकरणको फराकिलो दृष्टिकोणमा समेत योगदान गरिरहेको उहाँले चर्चा गर्नुभयो । चीनको सिल्क रोड परियोजनाले एक देशलाई अर्को देशसँग जोड्ने काम गर्नुका साथै देशका युवाहरुको ज्ञान, सीप र विचारहरु पनि आदान–प्रदानको काम गरिरहेको उहाँको भनाइ छ । 

नेपालस्थित चिनियाँ राजदूताबासका काउन्सुलर से युले नेपाल र चीनबिचको सम्बन्ध निकै पुरानो भएजस्तै दुवै देशका युवाहरुबिचको सम्बन्ध र समन्वय पनि त्यहीअनुसार विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । भविष्यमा त्यस्को परिणाम देखिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मध्यपुर ठिमी नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठले भक्तपुरको  पुरातात्विक र सांस्कृतिक सम्पदाको चर्चा गर्नुहुँदै आउने पर्यटकको सही व्यवस्थापन गर्न अझै सक्षम हुन नसकेको बताउनुभयो । त्यसका लागि गुरुयोजनासहित काम भइरहेको जानकारी दिनुभयो । 

चीनको सिल्क रोड युथ फोरम अन्तर्राष्ट्रिय युवाहरुको ज्ञान आदान–प्रदान गर्ने मञ्च हो । फोरमले विभिन्न देशका युवाहरुबिच एकता, मित्रता र प्रगतिको उद्देश्यलाई आत्मसात गर्दैआएको जनाएको छ । यसले बेल्ट एण्ड रोडमा जोडिएका मुलुक र क्षेत्रका युवाबिचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गर्दैआएको बताइन्छ ।


साइनो नेपाल मिडिया सोसाइटी र सिल्क रोड युथ फोरम तथा चीनमा रहेको नेपाल राष्ट्रिय मण्डप र भारतको संस्थासँग आपसी सहकार्य अभिवृद्धि गर्ने विषयमा समझदारी पत्रमा कार्यक्रममा हस्ताक्षर गरिएको छ ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका प्रवक्ता मात्रीका पौडेल, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक सेतान आमाग्याल, भुटानी आर्टिष्ट सेरिङ डोर्जे, नेपाल चाइना कल्चरल र कल्चरल काउन्सिलका सचिव दिलिप आचार्य, अरनिको प्रोजेक्ट नेपालका अनेका राजभण्डारी लगायतले नेपाल र चीनबीचको सम्बन्ध, चीनले छिमेकी राष्ट्रसँगको अन्तर कनेक्टिभिटीमा खेलिरहेको भूमिकाबारे चर्चा गर्नुभएको थियो । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।