• १३ साउन २०८१, आइतबार

तिनाउमा चुरे दोहन

blog

रुपन्देही समाचारदाता 

रुपन्देही, माघ १३ गते । रुपन्देही जिल्लाको उत्तरी सीमातर्फ चुरे क्षेत्रमा पर्ने पाल्पाको तिनाउ गाउँपालिकामा चुरेको दोहन गर्न सुरु गरिएको छ । निजी खेतबारीमा ‘गरा सुधार’ कार्यक्रमको नाम दिएर ढुङ्गा सङ्कलन गरी बेचबिखन गर्न थालिएको छ । 

किसानलाई ‘गरा सुधार’ गर्न दिने नाममा ढुङ्गा बालुवाको ठेक्कापट्टा गर्ने ठेकेदारलाई ढुङ्गा निकासी गर्न दिएर चुरेको दोहन गरिएको भन्दै रोक्न सरोकारवालाले आग्रह गरेका छन् । 

पाल्पाको तिनाउ गाउँपालिका–१, आरुखुदी गाउँका स्थानीयवासी पदमबहादुर जिसी र वडा नं. ४ सत्यवतीका तिलकसिं घर्तीको निजी जग्गामा ढुङ्गा सङ्कलन गरी निकासी गर्ने तयारी गरिएको छ । ती ढुङ्गा रुपन्देही बुटवल र कपिलवस्तु पु-याउने ठेकेदारको तयारी छ । अहिले ती जग्गामा ठुला जेसिबी मेसिन लगाएर ढुङ्गा निकाल्ने काम जारी रहेको छ । आरुखुदीका जग्गाधनी जिसीले भन्नुभयो, “गाउँकै केही साथीले ढुङ्गा बिक्री हुन्छ भनेर गाउँपालिकाबाट कागज बनाएका हौँ । उनीहरूले पाँच/छ लाख रुपियाँ पारिदिने कुरा गरेका छन् ।” सत्यवती निवासी घर्तीले पनि रुपन्देहीस्थित बुटवलका एक ठेकेदारलाई ढुङ्गा दिने सहमतिमा आफ्नो बारीमा ढुङ्गा सङ्कलन गरिरहेको बताउनुभयो । 

तिनाउ गाउँपालिकाको नेतृत्व र केही ढुङ्गा, बालुवाको काम गर्ने ठेकेदारको संलग्नतामा चुरे क्षेत्रको दोहन गरिएको बताइन्छ । तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले भन्नुभयो, “किसानले माग गरे अनुसार खेतबारीका गरा सुधार गर्न अनुमति दिइएको हो । त्यहाँबाट निस्केको ढुङ्गा उनीहरूले कहाँ बेचेका छन् भन्ने थाहा भएन ।” स्थानीय केही जनप्रतिनिधिले भने पालिका नेतृत्व र ठेकेदार मिलेर किसानका ढुङ्गा बेच्ने तयारी गरिएको बताएका छन् । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ भने सम्पर्कमा आउन चाहनुभएन ।

उता राष्ट्रपति चुरे संरक्षण समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख रामकृष्ण राजथलाले भने तिनाउ क्षेत्रमा दोहन भएको आफूले जानकरी नपाएको बताउनुभयो । चुरे क्षेत्रमा नदीजन्य पदार्थ निकासीका लागि चुरेले कुनै पनि बहानामा निकासीको अनुमति नदिने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले के कसरी अनुमति दिए त्यो थाहा भएन तर निजी जग्गा नै भए पनि हामीले ढुङ्गा निकासी गर्न अनुमति दिँदैनौँ ।” केही नीतिगत अस्पष्टताले गर्दा पनि चुरे क्षेत्रमा मनपरी काम भइरहेको उहाँको भनाइ छ ।

भूगर्भविद् प्रोफेसर डा. भोजराज कडरियाले चुरेको दोहन गर्न नमिल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यो चुरे १० लाख वर्ष पहिले बनेको हो । यो निकै कमजोर हुन्छ । यसको दोहनले मानव बस्तीलाई नै जोखिममा पार्दछ । जुनसुकै क्षेत्रमा भए पनि चुरेको दोहन रोक्न अनिवार्य छ ।” चुरेको संरक्षणका लागि स्थानीय, प्रदेश तथा केन्द्र सरकारले स्पष्ट नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । चुरेको दोहनले कैयौँ बस्ती जोखिममा पर्ने र भूकम्प जाँदा ठुला संरचनामा समेत क्षति पुग्ने उहाँले उल्लेख गर्नुभयो।