• ११ मंसिर २०८१, मङ्गलबार

कर्णालीको पत्रकारिता

blog

अहिले जताततै सूचनाको बाढी छ । यस्तो बेलामा पनि कुनै जानकारी लिन पत्रकारलाई धेरै दिन कुर्नु पर्छ भन्दा अचम्म लाग्न सक्छ । कुरो कर्णाली प्रदेश हो । यहाँ यस्तै नियति भोग्नु परिरहेको छ । यस्तो ठाउँमा पत्रकारिता कसरी गर्न सकिन्छ होला ? कर्णालीमा पत्रकारिता गर्नुपर्दा समस्यै समस्याका चाङ छन् । यही चाङमा बसेर पत्रकारिता गर्नु दैनिकी जस्तै भएको छ । सैद्धान्तिक ज्ञान त धेरै परको कुरा हो कर्णालीका पत्रकारका लागि । यो भन्दैमा कर्णालीका पत्रकार पत्रकारिता अध्ययन गरेका छैनन् भन्न खोजिएको होइन । धेरथोर पत्रकार त पत्रकारिता अध्ययन गरेकै छन् तर अधिकांश पत्रकारले पत्रकारिता अध्ययन गरेकै छैनन् । 

यो उनीहरूको रहर नभएर बाध्यता हो किनकि केहीअघिसम्म कर्णालीमा पत्रकारिता अध्ययन गराउने शैक्षिक संस्थाहरू नै थिएनन् । पछिल्लो समय भने यस्ता शैक्षिक संस्था यहाँ पनि खुलेका छन् । मध्यपश्चिम विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विभागको स्थापनाले सैद्धान्तिक ज्ञान भएका जनशक्ति उत्पादनमा मद्दत पुुगेको छ । पाँच वर्षअघि यो पङ्क्तिकार रिपोर्टिङकै क्रममा हुम्लाको नाम्खा गाउँपालिकास्थित हिमालपारिको गाउँ लिमी जानु परेको थियो, गाउँपालिकाले आयोजना गरेको लिमी महोत्सवको रिपोर्टिङ गर्नका लागि । बिहान हेलिकोप्टर चढेर सिमकोटबाट हिल्सा पुगियो अनि हिल्साबाट लिमीतर्फ लागियो । चार हजार पाँच सय मिटर उचाइको बाटो पार गर्दै लिमीको तिल गाउँ पुगियो । त्यहाँ पुग्दा बेलुकाको ८ बजिसकेको थियो । 

पत्रकार हामी तीन जना थियौँ । उक्त गाउँको चलन बेलुका ७ बजेपछि आउने जो कोहीका लागि प्रवेश निषेध रहेछ । भलै त्यसरी आउने मानिस गाउँवासी नै किन नहोस्, त्यसका आफ्नै बाध्यता र समस्या होलान् तर हामी जुन घरको झ्यालमा सोलार बत्तीको उज्यालो देख्थ्यौँ, त्यो घरको ढोकानजिक पुग्थ्यौँ र आज्यो (दाइ) भन्थ्यौँ तर घरका मानिसबाट झ्याल बन्द गर्ने र बत्ती निभाउने काम हुन्थ्यो । यसरी उक्त गाउँका घरमा बासका लागि राति १० बजेसम्म यो प्रयास जारी राख्यौँ । केही उपाय नलागेपछि सामुदायिक भवनमा गएर बस्ने निधो ग¥यौँ । 

हामीसँग ओढ्ने ओछ्याउने कपडा कुनै थिएन । एकसरो लगाएको कपडाले रात काट्नुको विकल्प थिएन । सिमकोटबाट बोकेको रोटी, चिउरा र चाउचाउले त्यो दिन बेलुकाको छाक टार्ने काम भयो । दिनभरिको हिँडाइको थकाइले केही बेर त निद्रा लाग्यो तर पछि रात छिप्पिँदै जाँदा चिसोले निद्रा लाग्न छोड्यो । हामीमध्येकै एक जना साथीले राति ३ बजेतिर होला, तल गोठमा झरेर आगो बालेर हामीलाई बोलाउनु भयो । हामी पनि आगो ताप्न गयौँ । त्यो रात त्यसरी नै बित्यो । यो कुरालाई खाली पत्रकारिता गर्दै गर्दाको अनुभूति मात्र व्यक्त गर्न खोजिएको हो । यो एउटा उदाहरण मात्र हो । कर्णालीमा पत्रकारिता गर्दा यस्ता कुरा धेरै भोग्नु पर्छ । सडक यातायात नजोडिएका कारण जता जानु परे पनि पैदल हिँड्नुको विकल्प छैन ।

कर्णालीका पाँच जिल्ला मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका पत्रकारका समस्या यस्तै छन् । सैद्धान्तिक ज्ञानको समस्या त छँदै छ । त्योबाहेक कुनै तालिम नै नलिएर पत्रकारिता गर्नुपर्ने अवस्था छ । न त कुनै तालिमको राम्रो व्यवस्था हुने गरेको छ । आफ्नै बलबुताले पत्रकारिता गर्नुपर्ने बाध्यता यहाँका पत्रकारसामु छ । यो अवस्थाले व्यावसायिक पत्रकारिताको कुरा त निकै टाढाको विषय बनेको छ । अर्को समस्या दैनिक गर्जो टार्नै मुस्किल छ । स्थानीय सञ्चार माध्यमले पारिश्रमिक दिने भनेको ज्यादै न्यून छ । न्यूनतम पारिश्रमिकको नियम लागुु हुन सकेको छैन । त्यो पनि मासिक नभएर अर्धवार्षिक र वार्षिक रूपमा पाउने हो, जसले गर्दा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल हुने गर्छ । यसबाट पत्रकारले यो पेसा छोडेर अर्कै रोज्नु परिरहेको छ । 

कर्णालीमा विशुद्ध पत्रकारिता गरेर बाँच्ने पत्रकारको सङ्ख्या न्यून छ । एउटा कलमजीवी भएर बाँच्न पनि कठिन छ । मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटमा अहिले पनि बामे सर्दै छ पत्रकारिता । यहाँ सीमित पत्रकार मात्र कार्यरत छन् । काठमाडौँबाट प्रकाशित हुने मूलधारका मिडियाहरूमा आबद्ध पत्रकारको सङ्ख्या पनि ज्यादै न्यून छ । निकै दुःखका साथ समाचार तयार पारेको भए पनि त्यो समाचार प्रकाशन वा प्रसारण हुने कुनै ग्यारेन्टी हुँदैन । छापिए पनि समाचार बिग्रिएर समाचार प्रकाशन तथा प्रसारण हुने गरेको छ । यसले गर्दा न स्रोतको विश्वासिलो भइन्छ, न त आफ्नो परिश्रमको उपलब्धि नै हात लाग्छ । समाचार सङ्कलनका लागि लाग्ने आर्थिक पक्षको त कुरै भएन । त्यो खर्च आबद्ध मिडियाले दिने पनि होइनन् । रिपोर्टिङ गर्दा लागेको खर्च आफैँ व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । यसरी दुर्गमका पत्रकारलाई व्यावसायिक पत्रकारिता गर्ने मनोबल आउने कुरै भएन । पत्रकारका लागि आवश्यक उपकरणको पनि अभाव उस्तै छ ।

अर्को कुरा सूचना पाउन गाह्रो छ । पाए पनि घटनास्थल पुग्न झन् कठिन छ किनकि स्थलगत रिपोर्टिङ गर्नका लागि तीन/चार दिन पैदल हिँड्नुपर्ने हुन्छ । त्यतिबेलासम्म समाचार बासी भइसकेको हुन्छ । त्यसैले धेरै समाचार फोनका भरमा तयार गर्नु परिरहेको छ । सम्पर्क गर्न कठिन छ । सम्पर्क भए पनि पत्रकारको फोन नउठाउने समस्या छ । विभिन्न विकासे कार्यालयमा सूचना अधिकारी भए पनि नाम मात्रका छन् । उनीहरूबाट सूचना सहजै आउँदैन । ‘हेर्नु पर्छ’, ‘अहिले त सकिँदैन’ भन्ने भनाइ आउनु सामान्य जस्तै हो । पत्रकारिता क्षेत्र पनि समाज परिवर्तनको माध्यम हो भन्ने बुुझाइ अहिले पनि छैन । 

कर्णालीमा पत्रकारिता गर्न सञ्चारको समस्या धेरै भोग्नु पर्छ । कतै पनि सञ्चारको पहुँच सहज छैन । त्यसैले कतिपय कुरामा प्रहरी सञ्चारको भर पर्नु पर्छ भने केही कुरामा स्थानीय एफएमको सूचनामा भर पर्नुपर्ने अवस्था छ । मोबाइलबाटै समाचार तयार पारेर आफ्नो वा आफू आबद्ध मिडियालाई फिल्डबाटै समाचार पठाउने वा सम्प्रेषण गर्न सकिने अहिलेको समयमा पनि कर्णालीका पत्रकार टिपाउन बाध्य छन् । यहाँका अघिल्लो पुस्ताका पत्रकारले भोग्नु परिरहेको समस्या अहिले पनि जस्ताको तस्तै छ । अर्को कुरा सञ्चारकर्मीलाई इन्टरनेटको समेत व्यवस्था गर्न कठिन छ । अहिले पनि कतिपय कार्यालय र गाउँपालिकामा गएर काम गर्नुपर्ने बाध्यता छ । 

यहाँ काम गर्ने पत्रकारलाई सबै क्षेत्र समेट्नुपर्ने बाध्यता छ । यसले मोफसलका पत्रकारको आफ्नो विशेष ‘बिट’ बन्न सकेको छैन । यसले गर्दा पत्रकारको कुनै क्षेत्रमा विशेषज्ञता हासिल गर्न सक्ने परिस्थिति निर्माण हुन सकेको छैन । जीवनभर पत्रकारिता गरेर पनि हात लाग्यो शून्य भने झैँ यहाँका पत्रकारका अवस्था छ । पत्रकारिता गर्ने क्रममा पनि सकारात्मक कुरा लेखे मात्र खुसी हुने धेरै छन् तर कमीकमजोरीलाई बाहिर ल्याउँदा रिसाउने, अर्को पटक समाचार लिन जाँदा जानकारी उपलब्ध नगराउने समस्या यहाँ पनि छ । 

जनताको घरदैलोको सरकारको उपमा पाएका स्थानीय तहले पत्रकारको क्षमता विकासमा पनि ध्यान दिन सकेको देखिँदैन । पत्रकारको क्षमता विकास गर्न सके समाज परिवर्तनमा सहयोग पुग्छ भन्ने सोचमा स्थानीय जनप्रतिनिधिले ध्यान दिएको पाइँदैन । विकासका लागि टेवा पुग्ने र नकारात्मक पक्ष न्यूनीकरणमा सहयोग पुग्छ भन्ने मान्यता पनि देखिँदैन । पत्रकारको क्षमता विकास गर्नु पर्छ भन्ने कुनै पक्षले सोचेको पनि देखिँदैन । अझै पनि यहाँका गहन तथा अनुसन्धानमूलक समाचार बाहिर आउन सकेका छैनन् ।

उठान गर्नुपर्ने विषय धेरै छन् । यी विषयमा कलम चलाउने जाँगर यहाँका सञ्चारकर्मीमा पनि देखिँदैन । यसका लागि पत्रकार पनि लाग्नु पर्छ । पछिल्लो समय पत्रकारको सङ्ख्यामा वृद्धि त भएको छ तर लेखेरै बाँच्छु भन्ने सञ्चारकर्मीको सङ्ख्या ज्यादै न्यून छ । लेखेर बाँच्न सकिन्छ भन्ने विश्वास पनि सञ्चारकर्मीमा देखिँदैन । सञ्चारकर्मीमा मेहनत गर्ने बानी पनि छैन । खाली कुनै मिडियाको आइडी कार्ड झुन्ड्याउन पाए हुन्थ्यो भन्ने सोचका पत्रकार पनि छन् । आर्थिक पक्ष राम्रो नहुने भएकाले परिवारबाट पनि सञ्चारकर्मीलाई सहयोग मिल्ने गरेको छैन । पत्रकारिता गरेर परिवारलाई आर्थिक सहयोग गर्न सकिएन भने सहयोग नमिल्नु पनि स्वाभाविकै हो । 

२०४६ सालपछि नेपालमा जसरी मिडियाको विकास भएको थियो, त्यसरी नै अहिले मल्टिमिडियाको विकास भएको छ । अनलाइन पत्रकारिताले त पत्रकारैपिच्छे अनलाइन पोर्टलको विकास भएको छ । रेडियो, टेलिभिजन र छापा माध्यमको विकास त हामीले देखेकै हो । भलै गुणात्मक हुन नसके पनि । अन्त्यमा कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका सञ्चारकर्मीले दुःख, वेदनाका बिच जेनतेन पत्रकारिता गर्नु परिरहेको छ । यो समस्यालाई बुझ्ने निकाय पनि छैनन् । स्थानीय र प्रदेश सरकारले कर्णालीका पत्रकारको क्षमता विकासदेखि अन्य समस्या समाधान गर्नु पर्छ भन्नेतर्फ ध्यान दिनु पर्‍यो । 

   

Author

राजन रावत