• १३ साउन २०८१, आइतबार

भगवती जात्रालाई विजय उत्सवको रूपमा मनाउन माग

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाल्पाली टोलीको अनुरोधपत्र बुझ्नुहुँदै । तस्बिर : गोरखापत्र ।

रेखीराम राना

तानसेन, माघ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पाल्पाको टोलीले ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय विजय उत्सवको रूपमा मनाउन माग गरेका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर पाल्पाली टोलीले भगवती जात्रालाई राष्ट्रिय पर्व घोषणा गर्दै राष्ट्र प्रमुख वा सरकार प्रमुख जात्रामा सहभागी हुने व्यवस्था गर्न माग गर्नुभएको हो ।  

प्रतिनिधि सभाका सदस्य ठाकुर गैरे, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा सिंजाली गाहा, जिल्लास्थित राजनैतिक दलका नेताहरूले भगवती जात्रालाई राष्ट्रिय पर्व घोषणा गर्न माग गर्नुभएको हो । वि.स १८७१-०७२ मा नेपाल–अङ्ग्रेज युद्ध हुँदा नेपाली फौजले सानदार रूपमा अङ्ग्रेज फौजलाई हराएको सम्झनामा अहिले पनि भगवती जात्रा निकालिन्छ । 

पाल्पामा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवती जात्रा मनाउने प्रचलन छ । तत्कालीन पाल्पा फौजका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा पाल्पा र रुपन्देहीको सिमानामा रहेको जितगढी किल्लामा नेपाली फौजले विजयी हासिल गरेको थियो । 

जात्राको ऐतिहासिक गरिमालाई संसारभर फैलाउन भगवती जात्रालाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्न प्रमुसमक्ष माग गरिएको नेकपा माओवादीका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले बताउनुभयो। भेटमा प्रधानमन्त्री प्रचण्डले भगवती जात्रालाई पाल्पाली जनताको मागअनुसार राष्ट्रिय पर्वको रूपमा घोषणा गर्न पहल गर्ने प्रतिक्रिया दिनुभएको घिमिरेले बताउनुभयो । 

नेपाल–अङ्ग्रेजको युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले युद्धमा विजयी हासिल गरेमा भगवतीको महिला फैलाउने भाकल गर्नुभएको थियो । सोही भाकल (बाचा) अनुसार युद्धमा विजयी प्राप्त गरेपछि वि.स १८७६ सालदेखि भगवतीको रथलाई तानसेन बजारमा परिक्रमा गराउने परम्परा रहेको इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो । 

त्यतिबेला नेपाली फौजले अन्य स्थानमा पराजित बेहोरेकाबेला जितगढी किल्लामा मात्र विजयी हासिल गरेको उहाँले बताउनुभयो । पाल्पाको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन्मन्त्री सुदन किरातीलाई समेत भेटेर भगवती जात्राबारेको अनुरोधपत्र बुझाएको छ ।