• १३ साउन २०८१, आइतबार

माओवादी संसदीय दलको नेता परिवर्तन

blog

माओवादी नेता मानबहादुर धामी ।

प्रकाशविक्रम शाह

धनगढी, माघ १२ गते । नेकपा (माओवादी केन्द) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेता परिवर्तन गरिएको छ । शुक्रबार बिहान उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलका नेता खगराज भट्टलाई परिवर्तन गरी मानबहादुर धामी ‘सन्तोष’ लाई चयन गरेको हो । 

दलको बैठकको बहुमतले भट्टलाई हटाएर धामीलाई दलको नेता चयन गरेको छ । भट्ट अनुपस्थित बैठकमा प्रदेश सभाका १० मध्ये ६ जनाको सहभागिता रहेको थियो । उपनेता रावलका अनुसार बैठकमा मानबहादुर धामी, अक्कलबहादुर रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक, शिवसिंह ओली र गीतादेवी मालको उपस्थिति थियो । गीतादेवी माल प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री पनि हुनुहुन्छ । 

बैठकमा दलका तत्कालीन नेता भट्ट, सामाजिक विकासमन्त्री झपटसिंह रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र जानकी पौडेल कुँवर सहभागी हुनुभएको थिएन । 

उपनेता रावलले केन्द्रका नेताहरुकै सल्लाहका दलको नेता परिवर्तन गरेको बताउनुभयो । राष्ट्रिय सभाको चुनावको कारण हामीले नेता चयनमा ढिलाइ गरेका थियौं उहाँले भन्नुभयो, “अब मन्त्री परिवर्तन पनि गर्ने सल्लाह भइरहेको छ ।” 

प्रदेश सरकारमा माओवादीका सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण गरेर दुई मन्त्री र एक राज्यमन्त्री छन् । माओवादीले दलको नेता परिवर्तन भएको जानकारी प्रदेश सभा सचिवालयलाई पनि लिखितरुपमा गराएको जनाएको छ ।