• १३ साउन २०८१, आइतबार

बागमती मन्त्री परिषद् बैठक

एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने

blog

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल 

हेटौँडा, माघ ११ गते । बागमती प्रदेशमा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने भएको छ । बागमती प्रदेशको मन्त्री परिषद् बैठकले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको हो ।

बागमती प्रदेश सरकारले कृषि उत्पादनमा आत्मनिर्भरका लागि भन्दै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई प्राथमिकता दिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बिहीबार यहाँ बसेको मन्त्री परिषद् बैठकले आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत गरेको जानकारी दिनुभयो ।

बैठकले प्रदेशको चेपाङ बाहुल्य जिल्लामा चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका श्रेष्ठले बैठकले बागमती प्रदेशस्तरीय ज्येष्ठ नागरिक नीति, २०८० र शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८० स्वीकृत गरेको बताउनुभयो । 

साथै, बैठकले सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । हाल हुलाक कार्यालय सङ्घीय सरकारलाई आवश्यक पर्दा छाड्नेगरी उपलब्ध गराउन माग गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।