फडिन्द्र अधिकारी
लेखनाथ, माघ ११ गते । राष्ट्रिय युवा सङ्घ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको मिति तय भएको छ । प्रदेश कमिटीको पूर्ण बैठकले लमजुङको बेसीसहरमा आगामी फागुन ६ र ७ गते अधिवेशन गर्ने निर्णय गरेको छ ।
सङ्घका प्रदेश संयोजक विकास अधिकारीले अधिवेशनमा विधानले व्यवस्था गरेअनुसारको दुईसय ८५ प्रतिनिधिले भाग लिने जानकारी दिनुभयो । अधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
राजनीतिक, साङ्गठनिक र आर्थिक लेखनका लागि संयोजक अधिकारी, साजन सुवेदी र सन्तोष शर्मालाई जिम्मेवारी दिइएको छ । प्रतिनिधि व्यवस्थापनका निम्ति संयोजक अधिकारी, सुदीप आचार्य, सन्तोष शर्मा, प्रचार–प्रसारका लागि संयोजक अधिकारी, साजन सुवेदी र रामराज अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
संयोजक अधिकारीले खाना तथा आवास व्यवस्थापन, स्वयंसेवक तथा मञ्च व्यवस्थापनको जिम्मा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी लमजुङलाई दिइएको बताउनुभयो ।
युवा सङ्घ नेपाल कास्कीको ११ औं जिल्ला अधिवेशन माघ १२ गते हुँदैछ । सङ्घ सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको अध्यक्ष पानबहादुर जिसीले जानकारी दिनुभयो । १८ कात्तिक २०८० मा तय भएको अधिवेशन जाजरकोट भूकम्पका कारण स्थगित भएको थियो ।