• ११ मंसिर २०८१, मङ्गलबार

शेख हसिनाको पाँचौँ कार्यकाल

blog

शेख हसिना वाजेद बङ्गलादेशमा सबभन्दा लामो समयसम्म शासन गर्ने नेतृ बन्नुभएको छ । यसपालि पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएकी उहाँको यो लगातार चौथो कार्यकाल हो । देशका लागि अहिले उहाँ निर्विकल्प नेता बन्नुभयो । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएकी हसिना सन् २००९ देखि लगातार प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । उहाँको आगमनले मुलुकमा राजनीतिक स्थायित्व हुँदा अर्थतन्त्र सबल हुँदै गएको छ तर प्रमुख प्रतिपक्षी दलसँग भने उहाँको सम्बन्ध राम्रो रहेन ।

हसिनाले पार्टी र सरकार दुवैलाई नेतृत्व दिनुभएको छ । सत्तारूढ अवामी लिगका अध्यक्ष उहाँ हालै सम्पन्न संसदीय निर्वाचनमा निर्वाचित भएपछि उहाँलाई राष्ट्रपति मोहम्मद सहाबुद्दिनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । हसिना नेतृत्वको आवामी लिगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उहाँ नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ । प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले भने यस पटक पनि चुनावमा भाग लिएन । उसले यो निर्वाचन नाम मात्रको भएको भनी आलोचना गरेको छ । बिएनपीका नेता र समर्थकहरूले निर्वाचन बहिष्कार गर्न भन्दै आन्दोलन गरेका थिए । यसपालि मतदाता उत्साहित नभएकाले अपेक्षाभन्दा कम मतदान भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक टोलीले निर्वाचन अपेक्षित शान्तिपूर्ण नभएको भने पनि निर्वाचन आयोगले निर्वाचन परिणामलाई वैधता दियो ।

शेख हसिना भन्नुहुन्छ, “यो देशमा प्रजातन्त्र कायम रहनु पर्छ भन्ने प्रत्याभूत गराउन मैले यथाशक्य प्रयास गर्दै आएकी छु ।” गत अक्टोबर २८ मा विपक्षी दलले सरकारविरोधी ¥याली निकाल्दा झन्डै १० हजार जना पक्राउ परेका थिए । त्यसपछि भएको हिंसामा १६ जनाको ज्यान गएको थियो भने पाँच हजारभन्दा बढी घाइते भएका थिए । यो घटनालाई लिएर ह्युमन राइट्स वाचले सत्तारूढ अवामी लिगका राजनीतिक प्रतिद्वन्द्वीहरूबाट जेल भरेको आरोप लगाएको छ । यद्यपि अवामी लिगले यो आरोप अस्वीकार गरेको छ ।

अवामी लिगको लगातार विजयका कारण देशमा एकदलीय शासन सुरु हुने त होइन भन्ने आशङ्का पनि बढेको छ । निकै थोरै मानिसलाई मात्र सरकारले दमन गर्न छोड्ला भन्ने विपक्षीको अनुमान छ । विपक्षी दल र नागरिक समाजले सरकारको वैधताबारे प्रश्न उठाइरहे दमन अझ बढ्न सक्ने छ । प्रधानमन्त्रीको दल अवामी लिगले स्वतन्त्र कामचलाउ सरकार गठन गरेर निर्वाचन गराउनुपर्ने माग अस्वीकार गरेपछि बिएनपीले चुनाव बहिष्कार गरेको थियो । तैपनि बिएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमान भन्नुहुन्छ, “हाम्रो शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन बलियो गरी चलिरहने छ ।” रहमान सन् २००८ देखि लन्डनमा बस्दै आउनुभएको छ । उहाँ शेख हसिनाका प्रतिद्वन्द्वी तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुनुहुन्छ । भ्रष्टाचारको आरोपमा खालिदा जिया निवासमै नजरबन्दमा हुनुहुन्छ । 

सन् २००४ मा चुनावी अभियानका क्रममा शेख हसिनामाथि बम आक्रमण गर्ने षड्यन्त्र गरेको अभियोगमा सन् २०१८ मा रहमान दोषी ठहर भई जन्मकैदको फैसला सुनाइएको थियो । सो घटनामा शेख हसिना घाइते हुनुभएको थियो भने २० जनाको मृत्यु भएको थियो । “मविरुद्धका सबै आरोप आधारहीन हुन् र राजनीतिक प्रतिशोधका लागि लगाइएका हुन्,” रहमान भन्नुहुन्छ । हसिनाले शासन गर्न थालेदेखि मुलुकमा राजनीतिक स्थायित्व भई आर्थिक विकासले गति लिएको उहाँका समर्थकहरूको दाबी छ । 

“हामीले राजनीतिक स्थिरता प्रदान गर्ने प्रजातान्त्रिक प्रक्रियालाई निरन्तरता दिएका छौँ । विश्वले हसिनालाई त्यसको जस दिनु पर्छ जस्तो मलाई लाग्छ,” कानुनमन्त्री अनिसुल हक भन्नुहुन्छ । उहाँका अनुसार विगत १५ वर्षमा बङ्गलादेशी जनताको मनमा जागृत गराएको आत्मविश्वास हसिनाको सबैभन्दा ठुलो उपलब्धि हो । “उनीहरूले आफैँमाथि विश्वास गर्न थालेका छन्,” उहाँले भन्नुभयो । अब यो नयाँ कार्यकाल सकिँदा हसिना ८१ वर्षकी हुनुहुने छ । उहाँको उत्तराधिकारी को बन्ला भन्ने जिज्ञासा अवामी लिगसहित बङ्गलादेशी धेरैमा छ । हसिनापछि सरकार र पार्टीको नेतृत्व गर्न सक्ने भरपर्दो व्यक्तित्व अहिलेसम्म देखिएको छैन । 

हसिनाको जन्म सन् १९४७ सेप्टेम्बर २८ का दिन तत्कालीन पूर्वी बङ्गालको टुङ्गिपाडा भन्ने ठाउँमा भएको थियो । उहाँ बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हुनुहुन्छ । हसिनाले टुङ्गिपाडामा प्रारम्भिक शिक्षा आर्जन गर्नुभयो । सन् १९५४ देखि उहाँ आफ्नो परिवारको साथ ढाकाको मोगलटलीको रजनी बोस लेनको घरमा बसोबास गर्नुभयो । पछि उहाँको परिवार मिन्टो सडकमा रहेको एक सरकारी निवासमा सरेका थिए । सन् १९५६ मा उहाँ थप शिक्षा हासिल गर्न टिकाटुलीमा रहेको नारी शिक्षा मन्दिर कन्या विद्यालयमा भर्ना हुनुभयो । सन् १९६१ अक्टोबर १ देखि उहाँको परिवार धानमोन्डीस्थित ७२ सङ्ख्याको घरमा बस्न सुरु गरेको थियो । 

शेख हसिनाले सन् १९७३ मा ढाका विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभयो । विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा उहाँले वाजेद मियाँसँग विवाह गर्नुभयो । हसिना र वाजेदका सजीव वाजेद जोय र सायमा वाजेल पुतुल दुई सन्तान हुनुहुन्छ । उहाँका पति वाजेद मियाको सन् २००९ मा निधन भयो । सन् १९७५ अगस्त १५ का दिन भएको सैनिक विद्रोहमा उहाँ र उहाँकी बहिनी शेख रेहानाबाहेक उहाँका परिवारका सबै सदस्य मारिए । त्यसबेला उहाँ र उहाँकी बहिनी पश्चिम जर्मनीमा अध्ययन गरिरहेका कारण सैनिक विद्रोहमा पर्नु भएन । 

हसिनाको राजनीतिक जीवन पाँच दशक लामो छ । उहाँ सन् १९८६ देखि १९९० र सन् १९९१ देखि १९९५ सम्म प्रतिपक्षी दलको नेता बन्नुभयो । सन् १९९६ देखि सन् २००१ सम्म पहिलो पटक देशको प्रधानमन्त्री बन्नुभएकी उहाँले सन् १९८१ देखि अवामी लिगको नेतृत्व पनि सम्हाल्दै आउनुभएको छ । उहाँ सन् २००९ मा दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । त्यसपछि उहाँ निरन्तर प्रधानमन्त्री बन्दै आउनुभएको छ ।

हसिना विश्वका सर्वश्रेष्ठ क्षमताशाली महिला व्यक्तिका रूपमा पनि चुनिनुभएको छ । सन् २०१६ मा फोब्र्स पत्रिकाका अनुसार विश्वका १०० क्षमताशाली महिलाको सूचीमा हसिना शीर्ष २६ मा पर्न सफल हुनुभयो भने सोही पत्रिकाद्वारा सन् २०१७ मा सार्वजनिक सोही शीर्षकको सूचीमा उहाँ ३० औँ स्थानमा रहनुभयो । यसबाहेक हसिनालाई अमेरिकास्थित पत्रिकाले विदेश नीतिको आधारमा विश्वका शीर्ष १०० विश्वव्यापी विचारकको सूचीमा सामेल गरिएको थियो । उहाँ विश्व महिला नेतृ परिषद्को सदस्य पनि हुनुहुन्छ । यो वर्तमान र पूर्वमहिला अध्यक्षहरू तथा प्रधानमन्त्रीहरूको एक अन्तर्राष्ट्रिय सञ्जाल हो । प्रधानमन्त्रीका रूपमा उहाँको कार्यकालमा धेरै घोटाला भए । पद्मा सेतु काण्ड, हलमार्क स‍नाली बैङ्क काण्ड, सेयर बजार काण्ड, रानम प्लाज ध्वंस र बङ्गलादेश सडक सुरक्षा आन्दोलन आदि उहाँको शासनकालका चर्चित काण्ड हुन् । 

बङ्गलादेश पछि बनेको नयाँ देश भए पनि यसको इतिहास र सभ्यता भने धेरै पुरानो छ । भारतको अधिकांश पूर्वी क्षेत्रलाई पहिले बङ्गाल भनिन्थ्यो । पहिले त्यहाँ हिन्दु र बौद्ध सभ्यता फस्टाएको थियो । पछि मुगल साम्राज्य विस्तारसँगै बङ्गाललाई इस्लामीकरण गर्न सुरु गरियो । सोह्रौँ शताब्दीसम्म बङ्गाल एसियाको प्रमुख व्यापारिक केन्द्र बन्यो । क्रमशः युरोपका व्यापारी आउन थाले । बेलायतको इस्ट इन्डिया कम्पनीले प्रभाव जमाउँदै भारतीय उपमहाद्वीपलाई नै उपनिवेश बनाएर डेढ सय वर्षभन्दा बढी समय शासन गर्‍यो । सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएसँगै भारत र पाकिस्तानमा विभाजित भयो । हिन्दु बाहुल्य भूभाग भारत र मुस्लिम बाहुल्य भूभाग पाकिस्तान बन्यो । बङ्गाल पनि हिन्दु बाहुल्य भूभाग भारतमा र मुस्लिम बाहुल्य भूभाग पाकिस्तानमा गाभियो । पाकिस्तानमा गाभिएपछि पूर्वी बङ्गाललाई पूर्वी पाकिस्तान भन्न थालियो ।

पूर्वी पाकिस्तानमा जमिनदारी प्रथा र बङ्गाल भाषा आन्दोलन सुरु भयो तर पाकिस्तानको उपेक्षा र दमनले परिस्थिति जटिल बन्दै गयो । शेख मुजिबुर रहमानको नेतृत्वमा स्वतन्त्रता आन्दोलन भयो । फलस्वरूप सन् १९७१ मा पूर्वी पाकिस्तान भारतको सहयोगमा नयाँ देश बङ्गलादेश बन्यो । यस आन्दोलनमा ठुलो जनधनको क्षति भयो । सन् १९७५ मा शेख मुजिबुर रहमान बङ्गलादेशको प्रथम राष्ट्रपति बन्नुभयो । सोही वर्ष भएको सैनिक विद्रोहमा उहाँ मारिनुभयो । मुलुकमा सैनिक शासन लागु भयो । सन् १९७७ मा जनरल जियाउर रहमान राष्ट्रपति बनेसँगै बङ्गलादेशलाई इस्लामिक गणतन्त्र बनाइयो । सन् १९८१ मा भएको अर्को सैनिक विद्रोहमा जियाउर रहमान मारिनुभयो । त्यसपछि अब्दुस सत्तार राष्ट्रपति बन्नुभयो ।

सन् १९८२ मा अर्को सैनिक विद्रोहमा उहाँलाई हटाई जनरल एरसाद राष्ट्रपति बन्नुभयो । सन् १९९० को जनआन्दोलनबाट एरसादलाई हटाइयो । सन् १९९१ मा एरसादलाई भ्रष्टाचारको आरोपमा जेल हालियो । पूर्वसैनिक शासक जियाउर रहमानकी पत्नी बेगम खालिदा जिया प्रधानमन्त्री बन्नुभयो । सन् १९९६ मा भएको निर्वाचनमा अवामी लिग विजयी भएपछि हसिना वाजेद पहिलो पटक प्रधानमन्त्री बन्नुभयो तर खालिदा जियासँग सम्बन्ध राम्रो भएन । सन् २००१ को निर्वाचनमा पुनः खालिदा जिया प्रधानमन्त्री बन्नुभयो । सत्ता पक्ष र प्रतिपक्षबिचको द्वन्द्वले बारम्बार हिंसा भयो । सन् २००९ देखि भने शेख हसिना लगातार प्रधानमन्त्री बन्नुभयो । प्रतिपक्षी कमजोर अवस्थामा पुग्दा खालिदा जिया भ्रष्टाचारको आरोपमा जेल पर्नुभएको छ ।

  

Author

रामप्रसाद आचार्य