• ११ मंसिर २०८१, मङ्गलबार

श्रीस्वस्थानी व्रतकथाको सार

blog

श्रीस्वस्थानी व्रत संस्कृति मूलतः नेपालको मौलिक संस्कृति हो । भगवान् शिव र देवी पार्वतीको सम्बन्धमा वर्णित पौराणिक कथाहरूको सँगालो नै स्वस्थानी व्रतकथा हो । नेपाल पाशुपत क्षेत्र हो, त्यसैले यहाँ भगवान् शिवको महिमाको वर्णन र स्तुति सर्वाधिक हुनु स्वाभाविक हो । नेपाल ऋषिमुनिहरूको तपोभूमि पनि हो, जहाँ कष्टपूर्ण तपस्या र साधनाद्वारा दैवी शक्ति र इच्छाएको वर प्राप्त गर्न सकिन्छ भन्ने जनविश्वास रहिआएको छ । त्यसैले श्रीस्वस्थानी व्रतकथामा एकातिर देवादिदेव महादेवको स्तुति वाचन गर्ने ध्येयलाई केन्द्रमा राखिएको छ भने अर्कोतर्फ सत्ययुगदेखि प्रचलित तपस्या प्रधान संस्कृतिलाई निरन्तरता प्रदान गरी तपमार्फत दुःखबाट मुक्ति पाउँ भन्ने अभिप्राय रहेको पाइन्छ । 

श्रीस्वस्थानी व्रतकथा वाचन कहिलेदखि प्रारम्भ भयो भन्ने सन्दर्भमा भगवान् विष्णुले पार्वतीलाई महादेव वर पाउन श्रीस्वस्थानीको व्रत बस्न सुझाएको पौराणिक कथामा उल्लेख छ । यसैलाई आधार लिएर शिवपार्वती सम्बन्धका पौराणिक अन्य वर्णनलाई समेत समावेश गरी स्वस्थानी व्रतकथा रचिएको तर्क गर्न सकिन्छ । निश्चय नै आजभन्दा सयौँ वर्षअघिको नेपाली समाजलाई लक्षित गरी लेखिएको स्वस्थानी व्रतकथा वर्तमान युगको आधुनिक चस्माले सरसर्ती हेर्दा अतार्किक, रूढीवादी सोचले ग्रस्त पितृसत्तात्मक सोचलाई पोषण गर्ने रूपको देखिन्छ तर सारमा यसलाई बुझ्ने प्रयास गर्दा भने हाम्रो सनातन धर्मका केही गहकिला पक्ष र अवधारणा यसभित्र पाइन्छ । 

स्वस्थानीमा सामाजिक सुधार र आधुनिक संस्कृतिका विषय खोज्नु आफैँमा हास्यास्पद कुरा हो । मातृसत्तात्मक युगमा महिला नै प्रधान हुने भएकाले समाजलाई चारित्रिक र नैतिक पतनबाट बचाएर आदर्श समाजको स्थापना गर्न उनीहरू आफ्नो प्रमुख कर्तव्य ठान्थे । त्यसैले आफू नै पूर्ण अनुशासित, पवित्र र आध्यात्मिक रहनुपर्ने कुरामा महिलाले विश्वास राख्दथे । पुरुष वर्गलाई सही मार्गमा ल्याई आफ्नो निर्देशानुसार चलाउन त्यस किसिमको आचरण र त्यागप्रति उनीहरू सजग थिए । वास्तवमा महिलाको शक्तिको स्रोत भनेको नै उसको पवित्रता हो, जसका कारण पुरुष नारीसामु नतमस्तक रहन्छ ।

श्रीस्वस्थानी देवीको माहात्म्य सुन्ने, सुनाउने र विधिपूर्वक व्रत अनुष्ठान पालन गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुने, बिछोड भएका विवाहित जोडीको पुनर्मिलन, असाध्य रोगबाट मुक्ति पाइने आदि धार्मिक विश्वास रहेको पाइन्छ । धार्मिक आस्था र विश्वास मानव जीवनका यस्ता पाटा हुन्, जसलाई वैज्ञानिक आधारभन्दा माथि उठेर विश्लेषण वा केलाउनु पर्दछ । यसमा वस्तुपरक यथार्थभन्दा पनि मनोवैज्ञानिक पक्षलाई दृष्टिगत गर्नु पर्दछ । स्वस्थानीको मूलकथाको आधारमा प्राचीन मातृसत्तात्मक युगको प्रतिविम्ब देख्न सकिन्छ, जुन आध्यात्मिक शक्ति, तप र पवित्रतामा विश्वास गथ्र्योे । 

त्यो युगको मनोविज्ञानलाई केन्द्रमा राखी विचरण गर्ने हो भने पार्वतीले महादेव पति पाउन गरेको तप वा व्रतउपर औँलो ठड्याउन पर्ने कुनै तुक देखिँदैन किनकि महादेवलाई विष, भाङ, धतुरो सेवन गर्ने, आफ्नो पे्रयसीलाई छलछाम गरी कहिले राजहाँस, कहिले मृग, कहिले मृगको छालाभित्र लुकाउने, कहिले रावणको तपस्यामा खुसी हुँदै पार्वतीलाई रावणकै काखमा सुम्पिएको अभिनय गर्ने जस्ता नकारात्मक चरित्रमा उभ्याइएको छ । त्यसउपर पार्वतीको पवित्र प्रभाव पार्न उनीप्रति नै श्रद्धाभाव र तपस्याको महत्वलाई औँल्याइएको छ । अर्को पक्षमा सतीदेवीको प्रत्येक अङ्ग पतन भइसक्दा पनि उनीप्रति नै लालायित भई मोहित हुनु पत्नीप्रतिको अटल प्रेमको खुलासा पनि देखिन्छ । 

स्वस्थानी व्रतकथाका पुरुष पात्रहरूमा महादेव, जालन्धर, शिव भट्ट ब्राह्मण, गणेश, कुमार, नवराज राजा, दक्ष प्रजापति, मय दानव (त्रिपुरवर) आदि र नारी पात्रहरूमा पार्वती, गोमा ब्राह्मणी, चन्द्रावती, स्वर्गका अप्सरा आदि छन् । पार्वतीले महादेवलाई विभिन्न रूपमा छक्याएकी, बाटो छेकेकी कथा पनि पाइन्छन् । उमेर नपुगेकी गोमालाई श्राप दिई ७० वर्षको शिव शर्मा ब्राह्मणको रूप धारण गरी गोमालाई शोषण गर्ने गर्भवती बनाउने कष्ट दिएको आदि वर्णन सरसर्ती पढ्दा अतिशयोक्ति र अपाच्य लाग्दछ । 

यसमा ख्याल राख्नुपर्ने कुरा के हो भने स्वस्थानी व्रतकथा कुनै साहित्यिक कृति होइन । यो पुराणमा आधारित भएर लेखिएको हो, जसलाई लाक्षणिक अर्थमा बुझ्न जरुरी छ । शिव शर्मा र गोमामा जोडिएको कथा भगवान्को कुदृष्टि प¥यो भने जस्तोसुकै वैभवशाली र सुखी व्यक्ति पनि दुःखको साङ्लोमा फस्न सक्दछ भन्ने एउटा अर्थमा बुझ्न सकिन्छ भने अर्को अर्थमा भगवान्ले मनुष्यलाई दुःख र कष्टको माध्यमबाट परीक्षण लिई उत्तीर्ण हुन सके मात्र आफ्नो शरणमा लिनुहुन्छ भन्ने बुझिन्छ । त्यसैले मनुष्यले भगवान्को आराधना मनमा कुनै क्लेश नराखी एकचित्त भएर गर भन्ने सन्देश यस कथामा पाउन सकिन्छ । 

दक्ष प्रजापतिको घरमा महादेवको अनुपस्थितिमा यज्ञ हुँदा आफ्नी छोरीले यज्ञको हवनकुण्डमा हामफालेको अवस्था, शिवले दक्षको अपमानको बदला लिन दक्षको टाउको काटी दिएका, दक्षले पशुवत् व्यवहार गरेकाले पशुरूप बोकाको टाउको जोडी दिई जीवित बनाएको प्रसङ्ग पनि कथामा छ । यसै गरी अग्नि कुण्डमा हामफालेकी देवीको मुच्र्छित शरीर बोकेर महादेव जताततै हिँड्न लागे । अनि यो अनर्थलाई नियन्त्रणमा लिन सो शरीरलाई विष्णुले सुदर्शन चक्रले माखाका जत्रा साना टुक्रामा परिणत गरिदिए । यिनै टुक्राहरू खस्दा शक्तिपीठहरू स्थापना भए भन्ने कथा पनि छ ।

भक्तको आराधनाबाट चाँडै प्रसन्न हुने भगवान् शिवलाई आशुतोषका रूपमा वर्णन गरिएको प्रसङ्ग त्रिपुर दाह वर्णनमा उल्लेख पाइन्छ । यस वर्णनमा कला, कौशल र विज्ञानसम्मत तथ्यको वर्णनका साथै भगवान्ले प्रयोग गर्ने वाणको केही विकसित अंशको रूप आजका क्षेप्यास्त्रहरू हुन् भनेर अथ्र्याउन पनि सकिन्छ । यसका साथै स्वस्थानी कथामा सृष्टिको रचना, ब्रह्माण्डको बनावट, ब्रह्माण्डका तìव, ब्रह्माण्डलाई १४ भाग लगाइएको, पृथ्वीको उत्पति, नाप, तौल, समुद्र र अन्तरिक्षको बयान, काल (मृत्यु) को चक्र आदि वर्णन गरिएको छ । 

चिकित्सा क्षेत्रमा स्वस्थानी कथाले चिकित्सकीय अनुसन्धानमा लाग्न सूचित गराएको पनि पाइन्छ । दक्ष प्रजापतिको काटिएको टाउकोमा बोकाको टाउको जोडेको प्रसङ्ग वर्तमान समयमा मिर्गौला, मुटु, आँखा, दाँत आदि प्रत्यारोपण गराइएका आधारको रूपमा लिन सकिन्छ । भगवान् गणेशलाई हात्तीको सुँड जोडेर शरीर निर्माण गर्नु एक प्राणीको अङ्ग अर्को प्राणीमा प्रत्यारोपण गराउन पनि सकिन्छ भनेर बाटो देखाउनु हो । मातापिताको सेवामा गणेशमार्फत देखाइएको प्रसङ्ग रोचक र सेवाभावमा तल्लीन हुने विषय हो ।

प्रस्तुत कथामा नारी वर्गलाई घरमा नै बसी पतिको सेवामा तल्लीन हुन अथ्र्याइएको प्रसङ्गमा गोमाले आफ्नी बुहारीलाई नवराज राजाको सेवा गर्न उपदेश दिइएको छ । यस सन्र्दभमा व्यक्त गरिएको टिप्पणी नकारात्मक रहेको पाइन्छ । यसमा अध्ययनको कमी हो कि भन्न सकिन्छ किनभने वैदिक कालका नारी आफ्नै सत्तामा आफ्नै अधीनमा रहेको वर्णन प्रशस्त मात्रामा पाइन्छ । समय क्रममा हिन्दु धर्म र नारीप्रति बाह्य आक्रमण बढ्न थालेपछि मात्र नारी घरभित्र सीमित हुन पुगेका हुन् । यस यथार्थतालाई पनि बुझ्नु पर्छ । 

स्वस्थानी व्रत समाप्तिमा प्रसाद वितरण हुने पकवान विशेष गरी रोटी, चाकु, तिलौरी आदि आफ्नै स्थानीय स्रोतसाधन गहुँ, धान, तिल, गाईभैँसीको घिउ, उखुको खुँदोबाट तयार गरिन्छ । यस्ता स्रोतसाधनलाई सरकारी र निजीस्तरबाट बढावा दिई आआफ्नै उन्नति प्रगतिमा रमाउनु, कृषि, खानी तथा जैविक व्यवसायलाई निरन्तरता दिई आत्मनिर्भर बन्नु पर्छ भन्ने सन्देश पनि हो । स्वस्थानी व्रतकथाभित्र रहेका वैज्ञानिक, मनोवैज्ञानिक, व्यावहारिक, आर्थिक र सनातन यज्ञ धर्मप्रति गहिरो चिन्तन गर्न आवश्यक छ । भगवान्प्रति आस्था र श्रद्धाभावले बस्ने व्रत सामाजिक बहसको विषय बन्न हुँदैन र बनाउन पनि हुँदैन ।

   

Author

विनायकप्रसाद धिताल