• १३ साउन २०८१, आइतबार

मधेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा

blog

धर्बेन्द्र झा 

धनुषा, माघ १० गते । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यको दुई सिटका लागि बिहीबार हुने निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख नविन चौधरीले दिएको जानकारीअनुसार मधेश प्रदेशको राजधानी जनकपुरधामको महेन्द्रनारायण निधि सँस्कृति केन्द्रलाई राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदानस्थल बनाइएको छ ।

सो ठाउँमा दुई वटा मतदान केन्द्र निर्माण गरिएको र निर्वाचनका लागि आवश्यक मतपत्रसहितको सामग्री मतदान अधिकृतलाई बुझाइ सकिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख चौधरीले बताउनुभयो । 

मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य र २६७ जना पालिका प्रमुख, उपप्रमुख गरी ३७४ जना मतदाताले निर्वाचनमा भाग लिन पाउने उहाँले बताउनुभयो । मधेश प्रदेशको विभिन्न पालिका गरी पाँच जना प्रतिनिधि कारवाहीमा परेका कारण तिनीहरुको मतदाता नामवलीमा समावेश नगरी निर्वाचन आयोगले मतदाता नामवली प्रकाशन गरेको उहाँको भनाइ छ । 

मतदान विहान ९ वजेबाट सुरु भएर ३ वजेसम्म चल्ने प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख चौधरीले बताउनुभयो । महेन्द्रनारायण निधि सँस्कृति केन्द्रमा मतदान केन्द्र ‘क’ का लागि कैलासप्रसाद भटट्राई र मतदान केन्द्र ‘ख’ का लागि सुशीलकुमार यादवलाई मतदान अधिकृत तोकिएको छ । मधेश प्रदेशमा महिलातर्फ  सत्तासिन गठबन्धन दलको तर्फवाट पूजा चौधरी र एमालेको तर्फबाट उषादेवी थरुनीले उम्मेदवारी दिनुभएको छ । 

अन्यतर्फ सत्तासिन गठबन्धन दलको तर्फवाट आनन्द ढुंगाना, एमालेको तर्फबाट विजेता झा र जनमत पार्टीको तर्फबाट रामाशंकर महासेठले उम्मेदवारी दिनुभएको छ । माघ ८ गते मध्य रातिबाटै मौन अवधि सुरु भइसकेकाले उम्मेदवारहरु फोनमार्फत मतदातासँग मत माग्ने कार्यमा व्यस्त रहेको उम्मेदवारले बताउनुभएको छ । 

यता, राष्ट्रिय सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान स्थल रहेको जनकपुरधामको महेन्द्रनारायण निधि सँस्कृति केन्द्र नजिकको क्षेत्रलाई प्रहरीले आफनो निगरानीमा राखेको जनाएको छ ।