• १९ असोज २०८१, शनिबार

गुल्मी अस्पतालमा नसर्ने रोगका लागि छुट्टै क्लिनिक

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ १० गते । सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा नसर्ने रोगका लागि छुट्टै पेनप्लस क्लिनिक सञ्चालन हुने भएको छ । अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि सेवा उपलब्ध हुनेछ । 

बालबालिका र किशोर किशोरीका लागि लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । यस सेवाबाट स्थानीय तहमा पनि नसर्ने रोग सम्बन्धी अन्तरक्रिया भइरहेको छ । 

अस्पतालमा पुग्ने बिरामीहरूले नसर्ने रोगको बारेमा जानकारी नहुँदा धेरै अन्योलमा पर्ने र यो सेवाले बिरामीहरूलाई सहयोग पुग्ने कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी दिनुभयो । यहाँ आउने दीर्घरोगी नसर्ने रोगका बिरामीहरूलाई छुट्टै पेनप्लस क्लिनिक स्थापना गरी थप सेवा प्रदान गरिने उहाँले बताउनुभयो । 

यस क्लिनिकबाट मेडिकल अधिकृतसहित हेल्थ असिस्टेन र स्टाफ नर्सले निःशुल्क सेवा प्रवाह गर्ने बताइएको छ । यहाँ अति गरिब र विपन्न नागरिकहरूका लागि निःशुल्क रूपमा स्वास्थ्य बिमा गरिने साथै बिमा रकम बाहेक अन्य ठुला रोगका बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरूलाई निःशुल्क रूपमा सबै खर्च व्यहोरेर उपचार गर्ने व्यवस्था छ । 

केही समयपछि जिल्लाका सबै पालिकासँग समन्वय गरेर जिल्लाभर सेवा विस्तार गरिने बताइएको छ । पालिकामा पहिलो चरण अन्तर्गत सामुदायिक स्तरको कार्यक्रमका लागि स्वास्थ्यकर्मीको हकमा पेनप्लस सम्बन्धी आधारभूत तालिम र स्वास्थ्य स्वयंसेवीकालाई नसर्ने रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने बताइएको छ । 

नेपाल सरकारसँगको समन्वयमा सञ्चालित पाईलेटिङ्ग प्रोजेक्ट अन्तर्गत नेपालको चारवटा प्रदेश अन्तर्गत चार जिल्लामा नसर्ने रोगको पेनप्लस प्रोजेक्ट अन्तर्गत क्लिनिक सञ्चालन हुने भएको बताइएको छ ।