• १३ साउन २०८१, आइतबार

पातमा आकृति कोरेर चम्किँदै विराज

blog

पातमा आफूले काेरेकाे आकृति देखाउँदै विराज । तस्बिर : नेत्र शाही

नेत्र शाही

जुम्ला, माघ १२ गते । जुम्ला चन्दननाथ नगरपालिका २ निवासी २४ वर्षीय युवा विराज भण्डारीमा पातमा चित्र र आकृति कोर्ने कला छ । उहाँले पातमा आकृति कोरेर नामसहित आम्दानी गर्न सुरु गर्नुभएको छ । 

विराजले पहिले आर्ट प्रतिस्पर्धा गर्नुहुन्थ्याे तर विस्तारै पातमै मानिस तथा विभिन्न वस्तुको आकृति कोरेर अहिले रमाइरहेका छन् । भण्डारीका अनुसार सन् २०२० मा लकडाउनको समयमा यूट्युबमा यस कलाका विषयमा सिक्ने गरेको बताउनुभयो । उहाँका अनुसार सिक्दासिक्दै कलामा प्रतिस्पर्धा पनि गरियो र राम्रो नतिजा आएपछि विगत २,३ वर्ष देखि पातमा आकृति कोरेर आफू रमाइरहेको बताउनुहुन्छ । उहाँले सबैभन्दा पहिला भारतको ताजमहलको तस्बिरको आकृति पातमा बनाएको देखेपछि यसको नक्कल गरेर पातको चित्र कोर्न सुरु गरेको उहाँ बताउनुहुन्छ । 

सुरुमा नेपालको नक्शा कोरेर हेर्दा राम्रो लाग्यो । विस्तारै अहिले पातमा आकृति कोर्ने मेरो दैनिकी बनेको छ । उहाँले अहिले विभिन्न मानिसका आकृति समेत निकालेर चित्र कोरिरहनुभएको छ । हालसम्म करिब दुई हजारदेखि दुईहजार पाँच सय पातमा मानिसहरु र विभिन्न महत्व राख्ने स्थानका चित्रको आकृति कोरिसकेको उहाँ बताउनुहुन्छ । 

पातमा कोरेको चित्रमा सामाजिक सञ्जालबाट पनि निकै प्रोत्साहन आएपछि यसलाई झन निरन्तरता दिँदै आएको बताउनुभयो । अहिले मानिसहरुका आकृति जस्ताको त्यस्तै बनाउन थालेपछि काम गरेको पारिश्रमिक पनि पाउने गरेका छन् । एउटा पातको आकृतिबाट एक हजारदेखि माथि आम्दानी हुने गरेको छ । 

विराज भण्डारी यसको वा आंशिक समयमा कर्णाली प्राविधिक शिक्षालयमा अध्यापन पनि गराउने गरेको बताउनुहुन्छ । उहाँको सिपको कदर गर्दै आंशिक प्रशिक्षकको रुपमा अवसर पनि दिएको छ । कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले विराज भण्डारीले पातमा चित्र र आकृति कोर्ने काममा राम्रो कला भएको बताउनुभयो । 

विराजले पछिल्लो समयमा कुलमान घिसिङ, वालेन्द्र शाह, लक्ष्मी प्रसाद देवकोटासहितका व्यक्तिहरुको पातमा आकृति कोरेका छन् । विराजले कोर्ने चित्रको पात विशेषगरी पीपल र केराको पात छ ।