• १३ साउन २०८१, आइतबार

दश जना पुर्पक्षका लागि थुनामा

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, माघ १० गते । जिल्ला अदालत सिन्धुलीले कमलामाई नगरपालिका–४ निवासी ३७ वर्षीय  शारदा थापालाई बन्धक बनाई कुटपिट गरेको अभियोगमा १० जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

शरीर बन्धक सम्बन्धी कसुरमा सोही ठाउँ निवासी एक्कबहादुर खड्का, ईश्वर पोखरेल, निकेश ढकाल, मिलन देवकोटा, विष्णुकुमार ढकाल, पीडितका श्रीमान् सन्तोष थापा, लक्ष्मी पोखरेल, गणेश भन्ने कुलविक्रम देवकोटा, लीला खड्का र वीरविक्रम ढकाललाई अदालतले मङगलबार थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार सात जनालाई पुस ८ गते नै प्रहरीले पक्राउ गरेको थियो । लक्ष्मी पोखरेल, गणेश भन्ने कुलविक्रम देवकोटा, लीलाकुमारी खड्का अहिलेसम्म फरार रहेका छन् । पक्राउ परेकालाई सिन्धुली कारागार पठाइएको छ ।

पीडित महिला थापाले पुस ११ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आफ्ना श्रीमान् सन्तोष थापासहित १० जनाविरुद्ध शरीर बन्धक, कुटपिट अङ्गभङ्गमा मुद्दा दर्ता गरेको उहाँले बताउनुभयो । शारदालाई श्रीमान् सन्तोष थापाले लिएको ऋण नतिरेको भन्दै थुनामा पठाइएको व्यक्तिले बन्धक बनाएर कुटपिट गरेका बताइएको छ ।

यता थुनामा गएका व्यक्तिका आफन्तहरूले भने गाउँलेसँग लिएको ऋण नतिर्न शारदा थापा र उहाँका श्रीमान् थापाले मिलेमतोमा उक्त घटना गराएको बताएका छन् । पुस ८ गते प्रहरी घटनास्थल पुग्दा घर नजिकैको बिजुलीको पोलमा बाँधिएको अर्धचेत अवस्थामा महिलालाई फेला पारी उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

थुनामा जानु भएका कमलामाई नगरपालिका–४ स्थित वर्ष ४२ का विष्णुकुमार ढकालकी श्रीमती जानुका ढकालले श्रीमान् उक्त घटनामा कुनै पनि कुरामा नजोडिएको भए पनि प्रहरीले सामान्य सोधपुछका लागि भनेर बोलाएर जबरजस्ती थुनेको बताउनुहुन्छ ।  शारदा थापाले व्यक्तिगत स्वार्थ र रिसिबिका कारण ज–जसको नाम लिइन्, उनैको एकतर्फी कुरा सुनेर प्रहरीले स्थानीयलाई नियन्त्रणमा लिएर थुनेको उहाँको गुनासो छ ।