• २१ वैशाख २०८१, शुक्रबार

बालसमीक्षक कुञ्जल

blog

काठमाडौँको युनाइटेड एकेडेमीमा कक्षा ८ मा पढिरहेका कुञ्जल शुभेच्छु लुइटेल साना बालसमीक्षक हुन् । उनको मैले पढेका किताब (२०८० वैशाख) प्रकाशित छ । यो किताब युनाइटेड स्कुलले पाठ्यक्रममा पनि राखिसकेको छ । यस कृतिभित्र ३८ वटा बालसाहित्यका किताबको समीक्षा समेटिएका छन् । उनले अहिले निरन्तर समीक्षा लेखिरहेका छन् भने उनी मञ्चमा गएर बालसाहित्यका विभिन्न कार्यक्रममा कृतिमाथि समीक्षा गर्ने गर्छन् । उनले कविता, कथा, निबन्ध, जीवनी र समीक्षा लेख्ने गर्छन् । साहित्य, सङ्गीत खेलकुद, अभिनय, प्रविधि र चित्रकलामा पोख्त कुञ्जल सानै उमेरमा विभिन्न विधामा पुरस्कृत तथा सम्मानित भएका छन् । साहित्य सन्ध्या बालकवि सम्मान २०७५, कवा उत्कृष्ट रचना सम्मान २०७६, साहित्यसागर सम्मान २०७८ उनले सानै उमेरमा प्राप्त उत्कृष्ट सम्मान हुन् । उनले फुर्सदको समयमा  अन्य विद्यालयमा आफू जस्तै विद्यार्थीलाई समीक्षा लेखनको प्रशिक्षण दिने गर्छन् । बालसाहित्यका कार्यक्रममा विभिन्न विधामा लेखिएका पुस्तकमा पनि उनी समीक्षक भएर प्रस्तुत हुने गर्छन् । अत्यन्तै प्रतिभाशाली कुञ्जल विद्यालयमा पनि अत्यन्तै अनुशासित र मेहनती स्वभावका छन् । सानै उमेरमा यस्ता अतिरिक्त व्क्रियाकलापमा भाग लिने र अघि सरेर बोली हाल्ने बानीले भविष्यमा आफूले चाहेको क्षेत्रमा आत्मविश्वासका साथ अघि बढ्न सकिने कुञ्जलको भनाइ छ । विद्यार्थी जीवनमा आफ्नो रुचि अनुसारको क्षेत्र पहिचान गरी अघि बढ्न सके सफल हुन सकिने मुनासँगको कुराकानीको क्रममा उनले बताए । 

ललिता ‘दोषी’