• २१ वैशाख २०८१, शुक्रबार

प्रतिभाशाली वैभवी

blog

वैभवी कुँवर स्मल हेभन मोडेल स्कुलको कक्षा १० मा पढ्छिन् । पढाइतर्फ कक्षामा उत्कृष्ट पाँच विद्यार्थीभित्र पर्ने वैभवीलाई उद्घोषण, वक्तृत्वकला, नाटक, ड्रामा लेखन, अभिनय र निर्देशन गर्न मन पर्छ । गत मङ्सिरमा चितवनको सौहारामा क्वेस्ट (Quality Circles in Education for Students Personality Development)  नेपालद्वारा आयोजित विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने उद्देश्यले सञ्चालित देशभरका ६१ विद्यालयको उपस्थिति रहेको विद्यार्थी गुणीय चक्र (Student Quality Circlees) को १७ औँ राष्ट्रिय सम्मेलनको एक दिन उद्घोषणसमेतको भूमिका निर्वाह गरिन् । उक्त अवसरमा कसैसँग आफ्नो कुरा राख्न नसक्ने बालबालिकालाई कसरी अगाडि ल्याउन सकिन्छ ? भन्ने विषयमा प्रवचनसमेत दिइन् । त्यो अवसरको स्मरण गर्दै उनले भनिन्, “मैले पहिलो पल्ट देशभरका ६१ विद्यालयका शिक्षक, विद्यार्थी सहभागी रहेको त्यति ठुलो कार्यक्रममा आफ्नो कुरा राख्न नसक्नेलाई कसरी अगाडि ल्याउन सकिन्छ भन्ने धारणा राख्ने अवसर पाएँ । यो मेरो अन्तस्करण देखिको चाहना थियो ।”

त्यसअघि पनि उनले विद्यालयमा डान्स शिक्षक नभएको बखत थुप्रै पटक प्रशिक्षकको भूमिका निर्वाह गरेको बताउँछिन् । गत शिक्षक दिवसका अवसरमा पनि महिला शिक्षकले घरदेखि स्कुलसम्म के कस्तो भूमिका निर्वाह गर्नु पर्छ भन्ने सन्देश दिने ड्रामाको स्व्रिmप्ट लेखनसँगै कोरियोग्राफीको समेत भूमिका निर्वाह गरेकी थिइन् ।

कक्षा १० को अन्तिम परीक्षा (एसईई) लाई महत्वका साथ हेरिने भएकाले पछिल्ला दिनमा वैभवी पढाइमा केन्द्रित छन् । बिहान ६ बजे विद्यालय आइपुग्ने र साँझ ६ बजे मात्र फर्किने गर्छिन् । उनले यस बखतको व्यस्तताका बारेमा भनिन्, “बिहान ६ बजे स्कुल गयो फर्किंदा ६ बज्छ । यतिबेला पढाइमा भन्दा अन्य विषयमा सोच्ने समय पाएको छैन ।” 

एसईईपछि साइन्स लिएर प्लस टु गर्ने उनको सोचाइ छ । उनलाई गणित विषय त्यति मन पर्दैन । भविष्यमा वकिल बन्ने सोचाइमा रहेकी वैभवी समयले साथ दिए विभिन्न प्रतियोगितामा भाग लिने, सौन्दर्य र कोरियोग्राफीमा आफ्नो प्रतिभा देखाउने चाहना राख्छिन् ।

प्रस्तुति : शान्ता अधिकारी